राजेश पराजुली, पोखरा । विद्यार्थीहरूमा सैद्धान्तिकका साथ व्यावहारिक शिक्षाका माध्यमबाट चौतर्फी विकास गर्ने उद्देश्यले पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा मङ्गलबार क्याप्टेन छनोटमा निर्वाचन प्रक्रियाको अभ्यास गरिएको छ ।
नेपालमा प्रचलित निर्वाचन प्रणालीका बारेमा विद्यार्थीहरूलाई ज्ञान दिने लक्ष्य राखेर सामाजिक अध्ययन विभागले आयोजना गरेको उक्त कार्यक्रममा कक्षा चारदेखि दससम्मका विद्यार्थीहरूलाई मतदाता तथा उमेदवारको रूपमा सहभागी गराइएको थियो ।
विद्यालय तहमा क्याप्टेन छान्न गराइएको पहिलो अभ्यास भएको कुरा बताउँदै विभागीय प्रमुख गुरुदत्त दवाडीले झण्डै दस दिन अघिदेखि यस तयारीमा लागेर मतदाता नामावली, मतपत्र, विद्यार्थीको कक्षागत र स्कुल क्याप्टेनको उमेदवारको तयारी साथै उनीहरूको परिचयपत्र निर्माण गरिएको एवम् निर्वाचन अभियानमार्फत मत माग्दै कक्षागत रूपमा विद्यार्थी आफैँले प्रचारप्रसार गरेको कुरा व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्मा, दस जोड दुईका इन्चार्ज नारायण आचार्य, प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी रुद्र न्यौपानेलगायतका व्यक्तित्वले विद्यार्थीहरूलाई निर्वाचन तथा प्रतिनिधि छानिएर जाने यो प्रक्रियाको जानकारी तथा अभ्यास विद्यालय तहमा यसरी गराइनु अत्यन्त उत्तम भएको कुरामा जोड दिए ।
विद्यार्थी सङ्ख्याको ठुलो मात्रालाई मध्यनजर गरी दुई दिनसम्म चलेको निर्वाचन प्रणालीमा अघिल्लो दिन सोमबार कक्षा सातदेखि दससम्मका विद्यार्थीहरूले मतदान गरेका थिए भने पछिल्लो दिन मङ्गलबार कक्षा चारदेखि छसम्मका विद्यार्थीहरूले मतदान गरेका थिए । यसका साथै निर्वाचनका लागि आवश्यकीय सामग्री मपपेटिका, स्वस्तिक छाप, गोप्य मतदान बार आदि प्रदेश निर्वाचन आयोगको कार्यालयबाट प्राविधिक सहयोगको रूपमा ल्याइएको थियो ।
सामाजिक विभागका सदस्य सुनिल सुवाल प्रमुख निर्वाचन आयुक्त र विभागीय प्रमुख गुरुदत्त दवाडी प्रमुख पर्यवेक्षक भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश निर्वाचन आयोग, गण्डकी प्रदेशका प्रमुख निर्वाचन अधिकारी हुमनाथ पराजुलीले कार्यक्रमको उद्घाटनका साथ आफ्नो अनुभव तथा नेपालमा हुने निर्वाचन प्रणालीका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउँदै विद्यालयले गर्न लागेको निर्वाचन प्रणालीको अभ्यासको प्रशंसा गरे।
यसै अवसरमा पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत विद्यार्थीहरूले कक्षा क्याप्टेनलाई मतदान गरेका थिए भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत तहगत स्कुल क्याप्टेनलाई सम्पूर्ण विद्यार्थीहरूले समानुपातिकको मतपत्रको फरकफरक चिह्नमा मतदान गरेका थिए ।
निर्वाचन समाप्त भए लगत्तै गोप्य रूपमा मत गणना गरी छिट्टै नै कक्षा क्याप्टेन र स्कुल क्याप्टेनको नतिजा विद्यालयमा सार्वजनिक गर्ने कुरा निर्वाचन अधिकृत तथा सामाजिक अध्ययन विभागका सदस्य शिक्षक आनन्द शर्माले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology