लाेक प्रसाद छन्त्याल, वामिटक्सार । मुसिकोट नगरपालिका ७ वामीमा होटेल सञ्चाल गर्दै आएकी ५८ वर्षीया गंगा भन्ने गोपालकुमारी शेरचनको हत्या आरोप लागेका तीनजना जेल चलान भएका छन् ।
जेल चलान हुनेहरुमा मकवानपुरका लोकबहादुर दर्लामी, सिन्धुपाल्चोकका शिवबहादुर तामाङ र बाग्लुङका थम्मन घर्ती रहेका छन ।गत १५ माघमा शेरचनलाई प्लास्टिकको टेपले हातखुट्टा र मुख बाँधेर हत्या गरेको आरोप उनिहरुलाई छ । हत्या भएको डेढ महिनापछि प्रहरीले बाग्लुङका घर्तीसहित तीनजनालाई पक्राउ गरेर अदालत पेस गरेको थियो ।
घर्तीको सहयोगमा हत्या गर्न मकवानपुर र सिन्धुपाल्चोकबाट दर्लामी र तामाङ आएको देखिएको छ । तीनैजना संगठित अपराधमा सहभागी भएको पाइएको छ । दर्लामीविरुद्ध ०६५ मा अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरमा मुद्दा चलेको थियो । ०७५ मा चोरी तथा डाका कसुरमा इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
तामाङविरुद्ध ०६२ मा डाका चोरी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुर र ०७८ मा अभद्र व्यवहार कसुरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको थियो । गुल्मीका प्रहरी प्रबक्ता डिल्ली नारायण पाण्डेका अनुसार एकजना अझै फरार रहेको र उनको खोजी भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology