देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ को लापरबाहीका कारण ५३ जना जेष्ठ नागरिक बृद्द भत्ता पाउनबाट बन्चित भएका छन् । वडा कार्यालयले जेष्ठ नागरिकको तथ्यांक अपडेटमा लापरबाही गर्दा जेष्ठ नागरिकले पाउनुपर्ने सामाजिक सुरक्षाको अधिकारबाट बन्चित भएका हुन् । त्यतिमात्र होइन, कतिपय भत्ता नै नपाउनुपर्ने नागरिकलाई समेत वडा कार्यालयले सिफारिस गरि सोझै बैंकबाट भत्ता बुझेको समेत खुल्न आएको छ ।
"जेष्ठ नागरिकको आँखामा गहभरी आसु"
देवदहका एक जना जेष्ठ नागरिक जसले विगत ५ बर्षदेखि बृद्द भत्ता बुझ्दै आएका थिए । उनी केही दिन पहिले जव वार्ड कार्यालय पुगे, वडा सचिबले पुरानो कार्डभएकोले भत्ता नपाईने बताए । त्यतिमात्र गरेनन्, सचिवले ती जेष्ठ नागरिकको भत्ता कार्ड यसको काम छैन भनेर डस्विनमा फाल्ने चेस्टा समेत गरेको जेष्ठ नागरिकका एक जना आफन्तले बताए । गहभरी आँसु गर्दै ती जेष्ठ नागरिकले भने - "बाबु अलि अलि भए पनि आउँछ भन्ने आस हुन्थ्यो, सचीव सरले हुन्न भन्नूभयो । सरकारले दिने पैसा पनि नपाईने भयो ।"
वडा सचिब भन्छन् - "यो पुरानै समस्या हो ।"
हामीसँग आएको यही एउटा गुनासोबारे वडा कार्यालयका सचीव बामदेव पोखरेलसंग जिज्ञासा राख्दा सचीव पोखरेलले त्यसप्रकारका नागरिक एक जना मात्र नभएर ५३ जना भएको बताए । सचीव पोखरेलका अनुसार यो समस्या आजको होइन । यो ०७६/७७ सालको समस्या हो । त्यसबेलाका सचीवले तथ्यांक अपडेट नगरिदिदा अहिले समस्या आएको पोखरेलको जिकिर छ । "पंजिकरण कार्यालयले ०७६/७७ को अपडेटलाई आधार मानेर ०७७/७८ मा अटो अपडेट हुने परिपत्र गरेकाले मैले सोही परिपत्र अनुसार ०७७/७८ को लागि पास बूकमा अपडेट गरिदिएं तर ०७६/७७ मै उहाँहरुको अपडेट नभएकोले छुट्नुभयो" - वडा सचीव पोखरेलले भने । 
हामीले पास बूकमा हस्ताक्षर गर्नुअघि सिस्टममा अपडेट भएको छ कि छैन भनेर हेर्ने दायित्व तपाईंको हैन ? त्यसै हस्ताक्षर गर्न मिल्छ ? भनेर थप सवाल उठाएपछि भने सचीव पोखरेलले आफ्नो गल्ती स्विकार्दै परिस्थितिबस त्यस्तो भूल हुन गएको बताए ।
नगरपालिकाको तथ्यांक समेत अपडेट गर्ने आईटी प्रमुख भन्छन् - "पाउनुपर्ने छुटे, नपाउनुपर्नेले भत्ता बुझे ।"
यस विषयमा हामीले देवदह नगरपालिका उप- प्रमुख बिद्यालक्ष्मी गुरुङसंग कुरा गर्न खोज्दा उनले यसबारे नगरपालिकाका आईटी प्रमुख विष्णु पाण्डेसंग बुझ्न अनुरोध गरेपछि हामीले नगरपालिकाका आईटी प्रमुख विष्णु पाण्डेसंग कुरा गर्यौं । सेतोमसीसंग कुरा गर्दै पाण्डेले वडा कार्यालयले सिफारिस गर्दा ध्यान नदिएको हुनाले केही जेष्ठ नागरिकको नाम छुटेको र केही भत्ता नपाउनु पर्ने नागरिकले समेत भत्ता बुझेको स्विकार गरे । उनका अनुसार वडाध्यक्षले बैंकलाई लेखेको पत्रका आधारमा बैंकले भुक्तानी दिएको हुनाले समस्या आएको हो । वडाको पत्र जस्ताको तस्तै बैंकमा पठाउने कि तपाईंले सिस्टममा चेक गरेर प्रमाणित गरेर पठाउने भन्ने हाम्रो प्रश्नमा पाण्डेले आफुसंग पत्र नआई सिधै बैंकमा जाने बताए । कति जना नागरिक वृद्ध भत्ताबाट बन्चित भएका छन् र कति जना गैरजेष्ठ नागरिक वा भत्ता नलिनुपर्नेले लिएका छन् त्यसको तथ्यांक उपलब्ध गराउन अनुरोध गर्दा पाण्डेले अफिसमा गएर उपलब्ध गराउने बताए । यद्यपि सोमबार दिनभरीजसो प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् ।
"कमजोरी सच्याइन्छ सवैले भत्ता पाउने गराईन्छ" - वडाध्यक्ष्य
हामी यतिमै रोकिएनौं, देवदह नगरपालिका प्रवक्ता समेत रहेका वडा नं. ५ कै अध्यक्ष झिल्लुप्रसाद न्यौपानेलाई के भएको हो भनेर सोध्यौं । हाम्रो प्रश्नमा कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष न्यौपानेले उक्त कमजोरी सच्याइने बताए । तपाईंले वृद्धभत्ता पाउनुपर्ने ब्यक्तीलाई छुटाएर नपाउनुपर्नेलाई भुक्तानी दिनु भनेर बैंकलाई किन पत्र लेख्नुभयो भन्ने हाम्रो प्रश्नमा न्यौपानेले त्यो बेला आफू नभएको र तोलानाथ विकलाई कार्यवाहक दिएर उपचार गर्न गएको बताए । उनका अनुसार विविध कारणले छुटेका सबै जेष्ठ नागरिकलाई पहिलो त्रैमासिकबाट भत्ता प्रदान गरिने छ । "मैले सचिवलाई सबै कुरा सच्याउन निर्देशन दिईसकेको छु । सबैले भत्ता पाउनुहुन्छ" उनले भने ।
यसरी वडा कार्यालय अध्यक्ष र सचीवको लापरबाहीले गर्दा एकातिर ५३ जना जेष्ठ नागरिक सरकारले दिने सामाजिक सुरक्षाको रकम पाउनबाट बन्चित भएका छन् भने अर्कोतिर वृद्ध भत्ता नपाउनुपर्नेले समेत वडाको पत्रकै आधारमा भत्ता बुझिरहेका छन । यसप्रकारको गंभिर लापरबाहीमा सरोकारवाला निकाय र आम नागरिकले निरन्तर चासो दिनु जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology