उ अहिलेको युवा पुस्ता हो
उ परिवर्तन चाहन्छ
कर्मै नगरि फलको आशा राख्दछ
उसमा नौलो गर्ने आँटै छैन
न आफुमाथि भरोशा
उ अहिलेको युवा पुस्ता हो
हेर्न र तालि बजाउँन मन् पर्छ
खेल्न जानेकै छैन
उसलाई तयारी बस्तु मन् पर्छ
बनाउन आफुलाई अयोग्य सम्झिन्छ
उ अहिलेको युवा पुस्ता हो
देश बनाउनु छैन
बनेको हेर्ने ठुलो रहर छ
उसलाई केवल आफु बन्नुछ
केही बनाउनु छैन
उ अहिलेको युवा पुस्ता हो
सोच पुरातन वादी
वकालत परिवर्तित सोचको गरिरहन्छ
युवालाई सर्वशक्तिमान ठान्छ
वयोवृद्धबाट शासित भइरहन्छ
उ अहिलेको युवा पुस्ता हो
पुर्खाले रचेको इतिहासमा गर्व गर्छ
आफु रच्न देखि डराउँछ
व्यवस्था परिवर्तन गर्नेहरु मन् पर्छन्
अवस्था परिवर्तन गर्नेहरु होइनन्
उ अहिलेको युवा पुस्ता हो
अन्याय सहनै सक्दैन
तर अरुमाथि गरिरहन्छ
स्वतन्त्रता चाहन्छ
अरुमाथि दमन शोषण गरिरहन्छ
उ अहिलेको युवा पुस्ता हो
आफु बदलिनु छैन
समाज बद्लियोस् भन्ने चाहन्छ
आफू बिग्रिएकोमा पश्चाताप गर्दैन
अरु नसुध्रिएकोमा हिनताबोध गर्छ
उ अहिलेको युवा पुस्ता हो
उसलाई मन् नपरेको आफू मात्रै हो
बाँकी सब् मन् पर्छ
उसलाई मन् नपरेको नेपाल हो
बाँकी सब मन् पर्छ।
उ अहिलेको युवा पुस्ता हो
उसले नेपाललाई नेपाल होइन
जापान बनाउन चाहन्छ
उसलाई क्रान्ति शब्द निकै प्रिय छ
क्रान्ति आफैबाट हुन्छ भन्ने बिर्सन्छ
उ अहिलेको युवा पुस्ता हो
उसले कर्तव्य भुल्दछ
अधिकार सम्झिन्छ
उसले गर्नुपर्ने केही छैन
बोल्नुपर्ने धेरै छ
उ अहिलेको युवा पुस्ता हो
उसमा ईमान्दारीता बाहेक सबथोक छ
कैयौंपटक आफैंलाई झुक्याएको छ
सत्यसंग लड्नै नसक्ने भएको छ
दिनप्रतिदिन पतन हुदैछ
उ अहिलेको युवा पुस्ता हो
हो उ अहिलेको युवा पुस्ता हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology