देवदह । एक हजार साधक सहभागी गराउने लक्ष्यसहित देवदहमा आयोजना गरिएको दशौँ 'शिव साधना'को तयारी तिब्र पारिएको छ। शनिबार साधनास्थल कोलिय शान्ति पार्कमा पत्रकार भेटघाट गर्दै शिव साधना सह-समितिले बैशाख १६ देखि २१ गतेसम्म संचालन हुने उक्त कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।
संचारकर्मीसंग कुरा गर्दै सह-समिति अध्यक्ष दुर्गा प्रसाद बश्यालले साधनामा देवदह र नवलपरासीसंगै देशभरिबाट एक हजार साधकहरू सहभागी हुने बताए। मदनबाबा भक्तिकेन्द्र काठमाडौंको आयोजनामा हुने उक्त साधनामा देशभरिका सबै साधक सहभागी हुन पाउने बताउंदै अध्यक्ष बश्यालले सो अवसरमा महारुद्री अनुष्ठान र सवाकरोड दीप प्रज्ज्वलन समेत गरिने बताए ।
कार्यक्रमबारे प्रष्ट पार्दै सह-समितिका वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद ढकालले शान्ति र आनन्दसंगै नकारात्मक उर्जा हटाउन साधनाले महत्वपुर्ण भूमिका खेल्ने बताए । देवदह अध्यात्मिक भुमि भएकोले आफूहरूले 'मदनबाबा' लाई देवदहमा सो साधना गराउन अनुरोध गरेको उनको भनाई छ ।
त्यसैगरी कार्यक्रमबारे बोल्दै सह-समितिका सल्लाहकार माधव रिमालले देशैभरि ९ वटा शिव साधना गरीसकेका 'मदनबाबा'ले देवदहमा साधना गराउनुले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत योगदान दिने बताए।
करिव ६ लाख रुपैंया खर्च हुने अनुमान गरिएको उक्त कार्यक्रममा साधकलाई खाने र साधनास्थलमा बस्ने व्यवस्था आयोजकले नै गरेको जनाईएको छ।
साधनामा सहभागी भएवापत कुनैपनि रकम तिर्नु नपर्ने उल्लेख गर्दै आयोजक सह-समितिका सचिव गोविन्द ज्ञवालीले इच्छुकले कार्यक्रममा सहयोग गर्न सक्ने बताए।
इच्छुक साधकले दिएको सहयोगबाट कार्यक्रम सम्पन्न हुने र आवश्यक रकम नपुग भएमा मुख्य आयोजक संस्था मदनबाबा भक्तिकेन्द्रले त्यसको व्ययभार बेहोर्ने आयोजकले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology