देवदह । रुपन्देहीको देवदह-७ मा अवस्थित स्मृति सामुदायिक वनले वनकै संरक्षणमा रहेको प्रस्तरकला पार्कमा नयाँ वर्ष २०८० को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गरि वनले शुभकामना आदान-प्रदान गरेको हो।
सो कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा ड्रिम देवदह युनिटी फर चेञ्जका संयोजक सिद्धिचरण भट्टराईले देवदहलाई पार्कहरुको नगरका रुपमा चिनाउन सकिने बताए। झन्डै ३ दर्जनको हाराहारीमा सामुदायिक वनहरू रहेको देवदहमा फरक-फरक पार्कमा फरक फरक 'थिम'मा आधारित रहेर पार्कहरू निर्माण गर्न सके पर्यापर्यटनमा महत्वपूर्ण कार्य हुन सक्ने धारणा व्यक्त गरे । ड्रिम देवदहले देवदहमा पहिलो पटक पार्क सम्मेलन आयोजना गरेर पार्कहरूलाई विशिष्टीकृत गरिनुपर्ने धारणा अगाडी सारेको उल्लेख गर्दै भट्टराईले सोहि धारणा अनुसार काष्ठकला पार्क र प्रस्तरकला पार्क निर्माण गरिएको उल्लेख गरे।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले पार्कहरूलाई पर्या-पर्यटनसंग जोड्न र त्यसबाट स्थानियहरू कसरी रोजगारी र उद्यममा जोडिन सक्छन भन्ने तर्फ ध्यान दिन जरुरि रहेको बताए। पार्क निर्माणमा वडा कार्यालयले आवश्यक सहजीकरण र बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष अधिकारीले पार्कमा धेरैभन्दा धेरै पर्यटन भित्र्याउने गरि योजना निर्माण गर्न अनुरोध गरे ।
स्मृति सामुदायिक वनका अध्यक्ष भरत कुमार गुरुङले पार्क निर्माणमा बजेटको अभाव कायमै रहेको अवस्था भएपनि स्थानियको सहयोगले निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिए। पार्कको प्रचार-प्रसारमा सहयोग गर्न समेत अध्यक्ष गुरुङको अनुरोध छ।
वन समितिका सचिव सुशिला भट्टराईको संचालन रहेको कार्यक्रममा कोषाध्यक्ष धुर्व खरेलले आमन्त्रित विभिन्न समिति र उपसमितिका सदस्य तथा अतिथिलाई स्वागत गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology