४ असार एजेन्सी- अष्ट्रियामाथि २-० को जित निकाल्दै नेदरल्याण्ड्स जारी यूरोकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको समूह सी अन्तर्गतको खेलमा नेदरल्याण्ड्सको जितमा माम्फिज डिपे र डन्जेल डुम्फारिजले एक एक गोल गरे।
पछिल्ला दुई ठूलो प्रतियोगिताहरु विश्वकप र यूरोकपमा छनोट हुन असफल रहेको नेदरल्याण्डस २००८ पछि पहिलो पटक यूरोकपको अन्तिम १६ मा पुगेको हो ।
समूह सी मा लगातार दोस्रो जितसँगै नेदरल्याण्ड्स ६ अंकका साथ शीर्ष स्थानमा छ। यूक्रेन र अष्ट्रियाको समान ३-३ अंक छन भने उत्तरी म्याकाडोनियाले खाता खोल्न सकेको छैन।
यसैगरी बेल्जियम पनि १६ औं संस्करणको युरोकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ।
कोपेनहेगन पार्केन स्टेडियममा बिहीबार राति भएकाे खेलमा घरेलु टाेली डेनमार्कमाथि २-१ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हाे।
बेल्जियमलाई जित दिलाउन इडेन हाजार्ड र केभिन डी ब्रुएनले एक/एक गोल गरे। डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरेपनि जितकाे लागि प्रयाप्त बनेन । जितसँगै बेल्जियम समूह 'बी'को २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा पुगेको छ। बेल्जियमले नकआउट चरणमा पनि स्थान पक्का गरेको छ।
उता बिहीवार भएको पहिलो खेलमा नर्थ मेसेडोनियालाई युक्रेनले पराजित गरेको छ । युक्रेनले नर्थ मेसेडोनियालाई २–१ गोल अन्तरले हराएको हो । जारी युरोकपमा युक्रेनको यो पहिलो जित हो ।
रोमानियास्थित एरिना नेसनल बुखारेस्टमा भएको खेलको पहिलो हाफमा २–० ले पछि परेको स्थितिमा दोस्रो हाफमा नर्थ मेसेडोनियाले गोल गर्दै खेलमा फर्किने संकेत गरे पनि जित निकाल्न सकेन। पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रि यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाए।
यो जितसँगै युक्रेन ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। अन्तिम १६ मा स्थान बनाउन युक्रेनको सम्भावना जीवितै छ भने लगातारको दुई हारले नर्थ मेसेडोनियाको अघिल्लो चरण पुग्न सकेन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology