विछोडको विच्छिप्तताले
विस्फोट हुनै लागेको तिम्रो-मेरो
नियमित भेटको संघार
अर्थात
स्कुले जीवनको 'अन्तिम दिन'
उराठिलो मौनता
तिम्रा-मेरा वेदनायुक्त
अश्रुमिश्रित टोलाएका नयनहरू
अनिश्चित भविष्यप्रति
विस्वस्त हुन सकेनन्
९ कक्षा पढ्न छोडेर
'बा' को दु:ख कम गर्न
ई-रेक्सा चलाउन थालेको
मेरो बेन्चर 'कृष्ण'
आज इ रेक्सा चलाएरै
खुसीले घर चलाइरहेको छ ।
मेरो देशको नीतिले मलाई -
यस्तो विचित्रको ज्ञान दिएको छ कि
जागिरमा तलब थोरै लाग्छ
उद्योग गरेर उधारो बाढ्नु भन्दा
सिधै दीन दु:खीलाई दान दिऊझैं लाग्छ
खेत खन्न मन लाग्दैन
करेसावारीमा तरकारी रोप्ने जाँगर चल्दैन
व्यापार गर्दाको दु:ख सम्झँदा
घरवेटीको पूर्वजन्मकै ऋणी भएझैं लाग्छ ।
अपराध मलाई मलाई मन पर्दैन
यसर्थ
भोलिको चिन्ताले होला
तिम्रो विद्यालय पोषाकमा
सम्झनारुपी हस्ताक्षर गर्न खोज्दा
हस्ताक्षरित हुनु पर्ने अक्षरहरू
स्वतस्फुर्त चलायमान भई
'अब खाडीमा भेटौँला' हुन पुगेछ
म जस्ता
भविष्यप्रति ससङ्कितहरूको
कलम चलायमान हुँदा
'अब खाडीमा भेटौँला' लेखिने रहेछ
जसलाई - यो देश सामान्य ठानिरहेछ
यसैको प्रभावले
कुनै दिन
देशप्रेमीहरूको
कलमसँगै
विचार चलायमान भयो भने
त्यसबेला
देशको अवस्था के होला ?
- निर्मल ढुंगाना
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology