भारी वर्षाका कारण अधिकांश जिल्लामा बाढी तथा पहिरोले जनजीवन कष्टकर बनेको छ । ज्यान गुमाउने तथा बेपत्ताको संख्या ३ दर्जन नाघी सकेको छ भने सयौं मानिसहरू घरबारविहिन भएका छन् ।
र, यसबाट गुल्मी पनि अछुतो छैन ।लगातारको वर्षाले गुल्मीमा पनि पहिरो जाने क्रम चुलिएको छ । गुल्मेलीहरू त्रास र आतंकमा छन् । अधिकांश सडकहरू अवरूद्ध छन् ।
मालिका गाँउपालिकाको घमिरबाट कोभिड संक्रमित बिरामी सदरमुकाम तम्घास ल्याउन २ दिन लागेको सुन्दा अत्यन्तै पीडा भयो । त्यस्तै एउटा सुत्केरीलाई जनतन गाँउलेले बोकेर तम्घास अस्पताल ल्याए । अन्य बिरामीहरूले पनि सोही नियति भोग्नु परेको छ । तम्घास सिमलटारी सडकखण्डको सिमलटारीबाट छल्दी सम्म एउटा पनि पुल नहुँदा बिरामी बीच बाटोमा तड्पिन बाध्य छन् । लामो समयसम्म यस क्षेत्रको बागडोर सम्हालेका जनप्रतिनिधि माथि पनि गम्भीर प्रश्न तेर्सिएको छ ।
विपतको पूर्व तयारीका दर्जनौं बैठक बस्छन् । तर खै त परिणाम ! खै सरकारको तयारी? पोहोर सालको इस्मा र मुसिकोटको पहिरोले घरबारविहिन भएकाहरूका घर अझै ठडिएका छैनन् । ओवाई नसकेका घाउहरू थप नउकल्जिउन । मौसम पूर्वानुमान शाखाद्वारा अर्को शुक्रबारसम्म वर्षा अधिक छ, भनिएको छ । आज झरी अलि कम भएको छ । यो अवस्थामा बिग्रीएका पुर्वाधारको मर्मत वा बैकल्पिक व्यवस्था गर्न जरुरी छ । कसैले अकालमा ज्यान गुमाउन नपरोस् । यस विषयमा सत्तासिनहरू संवेदनशील बन्न जरुरी छ ।
(लेखक खिलध्वज पन्थी नेपाली काङ्ग्रेस गुल्मीका सचिव हुन ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology