पाल्पा । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, तेल्घा, पाल्पाको आयोजनामा समुह अध्यक्ष कार्याशाला गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम तानसेन–६, पालेपिपलमा सम्पन्न भएको छ । कार्यक्रममा उक्त संस्थाको कार्यक्षेत्र अन्र्तगतका तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, बग्नासकाली गाउँपालिका लगायतका समुहहरुका अध्यक्षहरु तथा पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कालिका मन्दिर समुहकी अध्यक्ष श्रीमती सुन्दरीदेवी गैरेको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख आतिथीको रुपमा बोल्दै तानसेन नगरपालिका वडा नं ७ का कार्यबहाक अध्यक्ष शुशिल नेपालले कर्जाको सही सदुपयोग गरी उद्यमी बन्न आग्रह गरे । कर्जा लिएपछि तिर्नुपर्ने दायित्वबाट पन्छिन नहुने भन्दै उनले कर्जालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके भाग्नुपर्ने अवस्था नआउने बताए ।
कार्यक्रममा संस्थाको संरचना, प्रगति विवरण, संस्थाको नीति, संचालन प्रक्रिया तथा समग्र लघुवित्तको सम्बन्धमा संस्थाकी अनुगमन अधिकृत पुष्पा पोखरेल लम्सालले जानकारी दिए । सहभागीलाई कर्जाको सही सदुपयोग गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिदैं उनले अहिले केही व्यक्तिहरुले अनावश्यक रुपमा कर्जा मिनाहाको भ्रम फैलाईरहेको भन्दै व्यवसायका लागि लिएको रकम अन्यत्र खर्च गर्दा आउने समस्याको बारे जानकारी दिए । उनले विभिन्न तालिम तथा उत्पादनमूलक काममा आफूहरु स्थानीय निकायसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा संस्थाका शाखा प्रबन्धक विनोद पाण्डेयले स्वागत मन्तव्य सहित शाखाको बित्तीय विवरण पेश गर्दै कार्यक्रमको उद्देश्यका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
यस्तै कार्यक्रममा सहभागी आशा दर्जीले लघुवित्तबाट कर्जा लिएपछि तिर्नुपर्ने भन्दै अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्दै आफुले पनि यस संस्थाबाट कर्जा लिएर सदुपयोग गरी सफल उद्यमी बनेको बताईन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology