देवदह । देवदह-७ स्थित दुर्गा पंचायतन मन्दिरमा चोरी भएको छ। बुधबार राति मन्दिरमा राखिएका दुईवटा दानपेटिका फोडेर नगद चोरी भएको मन्दिर व्यवस्थापनका अध्यक्ष डिल्लीराज मरासिनीले जानकारी दिए।
कति रकम चोरी भयो भन्ने विषयमा ठ्याक्कै यतिनै भन्न सकिने अवस्था नरहेको बताउंदै अध्यक्ष मरासिनीले शिवरात्रीको दिन खोलिएको दानपेटिकामा त्यसयता जम्मा भएको सम्पूर्ण रकम चोरी भएको बताए।

यसअघि पनि निरन्तर मन्दिरको दानपेटिका फोडेर चोरी हुदै आएको बताउंदै अध्यक्ष मरासिनीले रडले च्यानल गेटको चावी फोडेर यो पटक मन्दिर प्रांगणकै अर्को राधाकृष्ण मन्दिरको समेत दानपेटिकामा भएको रकम चोरी भएको बताए।
सेतोमसीसंग कुरा गर्दै मन्दिर व्यवस्थापन समितिकै एक सदस्यले अनुमानित १५ हजार दान रकम चोरी भएको बताए।
मन्दिरमा गतराती चोरी भएको रिपोर्टपछि प्रहरीले एक जना संकास्पद व्यक्तिलाई पक्राउ गरेको र थप अनुसन्धान गरिरहेको देवदह प्रहरी चौकी प्रमुख डाक्टर प्रसाद चौधरीले जानकारी दिए।

मन्दिरमा निरन्तर चोरी हुनु र त्यसको रोकथामलाई सिसिटिभी क्यामरा लगायतको बन्दोबस्त गर्नेतर्फ मन्दिर व्यवस्थापनले ध्यान नदिएको बताउंदै स्थानीयले मन्दिर व्यवस्थापनकै मिलेमतोमा चोरी हुँदै आएको त होइन? भन्दै आशंका व्यक्त गरेका छन्।
स्थानीयको आशंकाबारे अध्यक्ष मरासिनीसंग कुरा गर्दा उनले झुटो आरोप लगाईएको बताए। उनले भने, "त्यो झुटो आरोप हो, हामीले सिसिटिभी लगाउने र एकजना कुरुवा पनि राख्नेबारे योजना बनाएका छौ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology