काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेटको शानदार जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले फितलो ब्याटिङ गर्दै नेपाललाई ९६ रनको झिनो चुनौती प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले आक्रामक ब्याटिङ गर्दै ७.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
नेपालको जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले नटआउट ५३ रन जोड्ने क्रममा २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले नटआउट १२ रन जोडे, त्यसअघि ओपनर कुशल भुर्तेल ३३ रन जोडेर आउट भएका थिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो । पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।
यो संगै पीएनजीविरुद्ध ९ विकेटको जीत दर्ता गर्दै नेपाल आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटनजिक पुगेको छ । अब अन्तिम खेलमा बिहीवार यूएईलाई पराजित गर्न सके नेपालले आगामी जुलाइमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology