मार्च ८ अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस। आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।
नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यापि कायमै छ ।
नेपालमा समेत राजनीतिक, सामाजिक तथा सबैखाले प्रगतिशील आन्दोलनहरूमा यहाँका महिलाहरूले पुर्याएको योगदान स्मरणयोग्य छ। जसका कारण हाल देशको सर्वोच्च पद राष्ट्रपति समेत महिला हुनुहुन्छ। जुन गर्व गर्न लायक छ।
अन्तराष्ट्रिय महिला दिवस मनाईरहदा विभिन्न तह र तप्कामा काम गर्ने महिलाहरूको चर्चा बेला बेलामा हुने गर्दछ सो सन्दर्भमा नेपालको शैक्षिक विकासमा महिला शिक्षकको भूमिकाको सायदै कम चर्चा हुने गर्दछ जुन नेपाली महिला शिक्षक, आम बालबालिकाहरूको सिकाई र समग्र शैक्षिक विकासको लागि समेत दुर्भाग्य हो भन्ने लाग्दछ। उल्लेख नै गर्नुपर्ने विषय के छ भने बच्चा जब विद्यालय जान नसक्ने अवस्थामा हुन्छन, त्यतिबेला बच्चा आमाको रेखदेखमा रहन्छ र जब विद्यालय पुग्छ तब महिला शिक्षककै रेखदेख र मायाममतामा उक्त बच्चाले सिकाईको सुरुवात गर्छ।
ति महिला शिक्षक जो धेरैजसो विद्यालयको तल्लो तहमा अध्यापन गर्नुहुन्छ, उहाँहरू कै कारण बच्चालाई घरबाट विद्यालय जाने बानीको विकास हुन्छ। उहाँहरू कै कारण भोलिको देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन्छ । अन्तराष्ट्रिय महिला दिवस मनाईरहदा, ती तमाम महिला शिक्षकहरूमा सम्मान सहित नारि दिवसको भव्य शुभकामना।
- विमला अर्याल
(लेखक अर्याल जनता माध्यमिक विद्यालय देवदहकी शिक्षक हुन)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology