उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनकै तर्फबाट एमालेले अघि सारेका उम्मेदवार नै राष्ट्रपति निर्वाचनमा विजयी हुने दाबी गरेका छन् । बुधबार संसद भवनबाट बाहिरिने क्रममा उनले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन हुने पनि बताए ।
‘यो सरकार जुन पृष्ठभूमिमा बन्यो र त्यतिबेला जे सहमति बनेको छ । त्यो सहमति नै नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा अघि सारिने उम्मेदवारको जितको आधार हो’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘सरकारमा सहभागी र समर्थन गर्ने दलहरूबीच जे सहमति बनेको छ, त्यो सहमति कार्यान्वयन हुन्छ । एमालेका तर्फबाट अघि सारिएका राष्ट्रपतिका उम्मेदवारले सानदार ढंगले जित हासिल गर्नुहुन्छ ।’
एमालेबाट अघि सारिने उम्मेदवारबारे भने उनले कुनै टिप्पणी गरेनन् । पौडेलले एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि अघि सार्नसक्ने संकेत गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीचको तिक्ततापूर्ण सम्बन्धबारे सोधिएको प्रश्नमा उनले भने, ‘कुनै पनि नेता वा पार्टीका सम्बन्धमा उकाली ओराली देखा पर्न सक्छन् । तर, मुलुकको आवश्यकता, परिस्थिति र साझा राष्ट्रिय अभिभाराले एकठाउँ खडा पनि गर्छ । तपाईंहरूले (नेताहरूबीच) जे दूरी नापी रहनुभएको छ, थथार्थमा त्यो दूरी छैन ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology