रेशम अधिकारी, परासी । सुनवल नगरपालिका वडा नं, ७ को बौद्धमार्ग भनेर चिनिने ज्यामिरे-अस्नैया सडकखण्डको ४८ मिटर आरसिसि ढलानकालागी २४ लाख ३३ हजार पाँच सय ५७.७५ रुपैयाँ बजेट बिनियोजन भएको छ ।
वि.एस.के. कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. भुमहीले मंसिर १४ मा सम्झौता गरेको सो बाटो आगामी आर्थिक वर्षको जेष्ठ ३२ गते निर्माण सम्पन्न गर्नुपर्ने छ ।
लगभग २० टन क्षमता रहेकाे ज्यामिरे - अस्नैया सडक खण्ड निर्माण भैईसकेपछी केही बर्षसम्म राम्रै अवस्थामा थियो । तर पछिल्लो ८ बर्ष यता बाटो झनपछि झन बिग्रदै गएको छ ।
यसअघि बौद्धमार्ग अन्तर्गत ज्यामिरेदेखि चारपालासम्म बाटो आरसिसि ढालन गरिएको छ । तर चारपाला हुँदै सिसाहानी, तर्गौली, अस्नैयाको बाटो अहिले हिंड्नै नसकिने खाडलहरूले भरिएको र सडकमा धुलो पनि सोही अनुपातमा अत्याधिक उड्ने गरेको स्थानीय पवन न्यौपानेले बताए। उनले बाटो धुलोले भरिएको कारण स्वास्थ्यमा पनि समस्या आएको बताए। `बाटोमा हिंडडुल गर्न निकै सकस छ । बाटो कहिले बन्ला भन्ने प्रश्न र बाटो चाडैं बनाेस् भन्ने झिनो आसामा वडाबासीहरू रहदैं आएका छौ´ न्यौपानेले सेतोमसीसंग भने ।
यता सुनवल नगरपालिका प्रमुख बिमला अर्यालले भने हाल ४८ मिटर आर सिसि ढलानकालागी २४ लाख ३३ हजार पाँच सय ५७.७५ रुपैयाँ बजेट बिनियोजन नगरले गरेको र त्यो निर्माण लगत्तै अस्नैयासम्म बाटो निर्माणकालालागी सहरी विकास मन्त्रालयले बजेट बिनियोजन गर्ने जानकारी दिइन्।
सुनवल-७ मा दुई ठुला उद्योग रहेका छन्, पाल्पा सिमेन्ट प्रालि र लक्ष्मी स्टिल प्रालिका हेभी ट्रकहरू यहि ज्यामिरे-अस्नैया सडकखण्ड हुँदै दैनिक गुड्छन। जसका कारण सडक छिट्टै बिग्रिने र धुलोका कारण बस्ति नै समस्यामा पर्दै आइरहेको छ। ठूला उद्योगले पहुँच र आर्थिक चलखेलको आधारमा न्युनतम सामाजिक उत्तरदायित्व समेत बहन नगरी, जनस्वास्थ्यमा समेत खेलवाड गर्दै आएको स्थानियले आरोप लगाउंदै आएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology