विष्णु पोखरेल, देवदह । देवदह नगरपालिका वडा नम्बर ६ मा अवस्थित शिवालय सामुदायिक बन क्षेत्रमा जैविक विविधता पार्क निर्माण हुने भएको छ । शिवालय सामुदायिक बन उपभोक्ता समूहले देवदह मण्डपमा संचालित सातौं राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सव-२०७९ मा प्रस्तावित पार्कको तस्वीर प्रदर्शन गरेको हो।
जैविक विविधता पार्कको बिस्तृत गुरुयोजना सम्पन्न भएको र सोहि अनुसार जैविक विविधता पार्क निर्माण गरिने बन उपभोक्ता समूहका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । पाँच विगाहा क्षेत्रफलमा निर्माण हुने पार्कको जम्मा लागत ७ करोड ९० लाख अनुमान गरिएको छ ।

मेला स्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष पौडेलले सामुदायिक बन, स्थानीय, प्रदेश र संघिय सरकारको सहयोगमा पार्क निर्माण गरिने र उक्त पार्क यस क्षेत्रकै पहिलो जैविक विविधता पार्क हुने बताए । "जीवजन्तु र रूख विरुवाको संरक्षण र विकासका लागि यस प्रकारको पार्कको अवधारणा ल्याईएको हो, नेपाल सरकारले नै जैविक विविधताको क्षेत्रमा लगानी गरिरहेको अवस्थामा हामीले यस प्रकारको पार्क बनाउनु पर्छ भनेर सुरू गरिएको हो" अध्यक्ष पौडेलले भने।
पार्कभित्र स्विमिङ्ग पूल, भ्यू टावरसंगै मनोरन्जनका विभिन्न पूर्वाधार समेत निर्माण गरिनेछ । साथमा अमला, बेल लगायतका लोपोन्मुख जडीबुटीको समेत प्रवर्धन पार्कभित्र गरिने जनाईएको छ ।
पार्क निर्माणको काम १० वर्षभित्र पुरा गर्ने लक्ष्य लिईएको अध्यक्ष पौडेलको भनाइ छ ।
पछिल्लो समय देवदहमा पार्क निर्माण गर्ने कार्य बढिरहेका छन् । जसका कारण बुद्ध मावली क्षेत्र भनेर चिनिने देवदह भविष्यमा पार्कहरूको नगर भनेर समेत चिनिन सक्ने जानकारहरू बताउँछन्।
यसअघि नै देवदहमा काष्ठकला पार्क, प्रस्तरकला पार्क, यशोधरा पार्क लगायतका पार्कले चर्चा बटुलिसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology