देवदह । देवदह नगरपालिकास्थित देवदह बुद्धपब्लिक आवासीय माध्यमिक विद्यालयले २१औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । सोमबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले सप्ताहव्यापी कार्यक्रमसहित बार्षिकोत्सव मनाउने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले फागुन ६ गते विद्यालयले २१औं बार्षिकोत्सवको मूल समारोह गर्नेगरि सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बताए। फाल्गुन ३ गतेदेखि सुरुहुने कार्यक्रम अन्तरगत जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेको खाना महोत्सव, अभिभावकहरुबीच खेलकुद, लगायतका कार्यक्रम रहेको विद्यालयले जनाएको छ।
बार्षिकोत्सवको अवसरमा अभिभावकको स्वास्थ्यको ख्याल गर्दै निशुल्क दाँत, आखाँ र मधुमेह रोगको परिक्षणका लागि निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने विद्यालयले जनाएको छ ।
यसैगरी लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गर्नुका साथै 'एसइई' र कक्षा ८ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित विद्यालयले सम्मान गर्ने प्रिन्सिपल गैरेले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारी सहितको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा सहायक प्रिन्सिपल नारायणप्रसाद गौडेलको स्वागत र शिक्षक अनन्त भण्डारीको संचालन रहेको थियो ।
स्मरण रहोस, विक्रम सम्बत २०५८ सालमा स्थापना भएको विद्यालय २०७६ सालमा 'आईएसओ सर्टिफाईड' भएको थियो। बुद्ध पब्लिक यस क्षेत्रको एकमात्र 'आईएसओ सर्टिफाईड' विद्यालय हो । पुर्व प्राथमिकदेखि कक्षा १२ सम्मका कक्षा संचालन गर्दै आएको देवदह बुद्धपब्लिक आवासीय माध्यमिक विद्यालयमा एक हजार ८ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने विद्यालयमा १ सय १७ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology