देवदह । देवदहस्थित घोडाहा खोलामा नदिजन्य पदार्थ (ढुंगा-गिट्टी) उत्खननको विषयलाई लिएर विवाद भएको छ । नदि उत्खननको विषयलाई लिएर डिभिजन बन कार्यालय, रुपन्देही, स्थानीय प्रहरी, नगरपालिकाका पदाधिकारी र ठेकेदारको विचमा कुरा नमिल्दा विवाद भएको हो ।
बन क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन गरिएको भन्दै घोडाहाखोला लगायतका स्थानमा हुँदै आएको उत्खनन रोक्न डिभिजन बन कार्यालय, रुपन्देहीले देवदह नगरपालिकालाई शुक्रबार अर्थात् जेठ २१ गते पत्र काट्यो । उक्त पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र बन सब-डिभिजन कार्यालय शितलनगरलाई पनि पठाईएपछी त्यही पत्रको आधारमा देवदह प्रहरीले घोडाहा खोलामा हुँदै आएको उत्खनन रोक्यो । 
तर, विषय जटिल तब बन्यो जब ठेकेदारले खोला उत्खनन गर्न पाउनुपर्ने भन्दै देवदह नगरपालिकाका पदाधिकारीहरु नै खोलामा पुगे र प्रहरीलाई सहजीकरण गर्न अनुरोध गरे । यद्यपि प्रहरीले माथिबाट आदेश आएको र उक्त आदेश आफुले पालन गर्नुपर्ने भन्दै कर्तव्यपालनबाट पछि हट्न इन्कार गर्यो ।
कथा त्यतिमै रोकिएन, नगरपालिकाका पदाधिकारीहरु अर्थात नगरप्रमुख हिरा बहादुर खत्री र उप-प्रमुख विद्यालक्ष्मी गुरुङले बन कार्यालयबाट आएको पत्र मान्न इन्कार गरे । आफुहरुले प्रक्रिया पुर्याएर ठेक्का दिएको र आजसम्म चुप लागेको बन कार्यालय एक्कासी सक्रिय हुनुमा उनिहरुले आशंका व्यक्त गरे ।
घोडाहा खोलामै भएको प्रहरी र नगर प्रमुख, उपप्रमुखको अनौपचारिक छलफलमा बनको पत्रकै आधारमा आफुहरुले उत्खनन नरोक्ने र रोक्नै पर्ने भए माथिल्लो तहको पत्र लिएर आउन समेत प्रहरीलाई चुनौती दिएको रेकर्ड समेत सेतोमसीले प्राप्त गरेको छ ।
यसरी आफुहरुले माथिल्लो तहमा कुरा गरेको र केही समयमै प्रहरीलाई अपडेट प्राप्त हुने भन्दै नगरप्रमुख र उप-प्रमुखले प्रहरीले रोकेका टिप्परलाई साइटमा जान र नदिजन्य पदार्थ उत्खनन गर्न अनुमती दिएको तर आफुलाई कुनै पनि नयाँ निर्देशन प्राप्त नभएको देवदह प्रहरी चौकिका इन्चार्ज दिपक महत क्षेत्रीले बताए ।
आइतबार साँझ क्षेत्रगत रिपोर्टिङको लागि सेतोमसी सहितका मिडियाका पत्रकारहरु खोलामा पुग्दा समेत स्थिति तनावपूर्ण नै थियो । यद्यपि मिडिया पुगेपछि भने ठेकेदारहरुले खाली टिप्परलाई प्रवेश नगर्न अनुरोध गरे । तर पनि पहिले नै प्रवेश गरेका टिप्परले भने बेलुका ७ बजेसम्म नै नदिजन्य पदार्थ ओसारी रहेका देखिन्थे ।
यो समाचार तयार गर्दैगर्दा आज (सोमबार) विहान ११ बजेसम्मको लागि उत्खनन बन्द गरिएको र तत्पश्चात् आवश्यक निर्णय लिने तयारीमा नगरपालिका कार्यालय लागेको बुझिएको छ ।
हेर्नुहोस सेतोमसीको स्थलगत रिपोर्टिङको यो भिडियो:
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology