प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिङ र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेकाले त्यसलाई रोक्न कडा कदम चालिने बताएका छन्।
काउन्सिलमा नयाँ अनलाइनका लागि आज आयोजित एक कार्यक्रममा नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैले समन्वय गर्न जरुरी भएको बताए। “कतिपय सञ्चारमाध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ । पर्याप्त प्रमाण पु¥याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारवाही हुनेछ”, अध्यक्ष बस्नेतले भने।
अनलाइन र युट्युव च्यानलमा पत्रकारिताको रोगकैरुपमा यस्ता समस्या भित्रिएकाले काउन्सिलले अभियान चलाएर यसविरुद्ध कदम चालिरहेको उनको भनाइ थियो । प्रेस काउन्सिल नेपालले नयाँ सूचिकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरण कार्यक्रममा आज १८औँ श्रृङ्खला सम्पन्न गरेको छ ।
कार्यक्रममा विषयगत विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताए। पण्डितले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलजस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव राखे।
‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’मा विषय विज्ञका रूपमा उहाँले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानबारे जानकारी दिए।
काउन्सिलका अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) अन्तर्गत रहेका पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे प्रष्ट पारे। अनलाइन पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले सत्यताको परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology