राजेश पराजुली, पोखरा अमृत गुरुङ लगायत मञ्चमा उपस्थित हुने ६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली आइतबार बेलुकी पोखरा आइपुगेको छ ।
पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको टोलीलाई आइतबारै पोखराका मेयर धनराज आचार्यले स्वागत तथा सम्मान गरेका थिए । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुको उपस्थिती थियो ।
यसपटकको दौडाहा अन्तर्गत नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत र बुटवलमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ ।
पोखराबाटै उदाएको नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत गृहमैदान पोखरामा नवौं प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस १२ गते मंगलबार बेलुकी ४ बजे स्थानीय नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा हुनेछ ।
पोखरामा यसअघि नेपथ्यले संस्थागत रुपमै आठपटक आफूलाई प्रस्तुत गरिसकेको छ । राजधानी काठमाडौं उपत्यकापछि सबैभन्दा बढी उसले आफूलाई यो भूमीमै उभ्याएको छ । यसपटक भने यो नवौं कन्सर्ट हुनेछ । ब्याण्डले सबैभन्दा बढी ‘शान्तिको लागि शिक्षा’ अभियान बोकेर पाँच पटक आफूलाई यहाँ प्रस्तुत गरेको छ भने यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत यो पहिलो कन्सर्ट हुनेछ ।
संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्दैहिँडेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology