काठमाडौं । नेपाल प्रहरीले सामाजिक संजालमा हुने अश्लिल क्रियाकलाप र त्यसको दुरुपयोगबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालय साईबर व्युराेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक संजालको दुरुपयोगले निम्त्याउने समस्याबारे सजग हुन समेत नागरिकलाई सुझाएको छ ।
ब्युरोका प्रवक्ता नविन्द अर्यालद्वारा जारी विज्ञप्तिमा विगत केही समय देखी आपराधिक समुहहरुले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको जनाइएको छ । साथै उक्त समूहले फेसबुक म्यासेन्जर, व्हाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी अपरिचित व्यक्ति आफैले अश्लिल कृयाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिक कुराकानी तथा अश्लिल कृयाकलापमा संलग्न हुने वातावरण बनाउने घटना बढ्दै गएको समेत प्रहरीले जनाएको छ ।
पछिल्लाे समय अनैतिक अश्लिल कृयाकलापमा संलग्न गराएपश्चात् उक्त भिडियो कलको रेकर्ड गरी साइबर अपराधमा फसाइदिन्छु, तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजग रहन विज्ञप्तिमा अनुरोध गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology