देवदह । रुपन्देहीको देवदह नगरपालिकामा स्थानीयको विवादका कारण स्वास्थ्य चौकी निर्माण कार्य अलपत्र परेको छ ।नगरपालिकाको वडा नम्बर ११ मा निर्माण हुने एक वडा एक स्वास्थ्य चौकी अन्तर्गतको उक्त स्वास्थ्य चौकी स्थानीय जनता, वडा कार्यालय र नगरपालिकाविच उचित समन्वय हुन नसक्दा अलपत्र परेको हो ।
करिव ७ महिना अघि नगरप्रमुख हिरा बहादुर खत्री र उप-प्रमुख विद्यालक्ष्मी गुरुङद्वारा वडाको सिक्टहन क्षेत्रमा शिलान्यास गरिएको उक्त स्वास्थ्य चौकी यतिबेला शिलान्यास भएकै स्थानमा बनाउने वा नयाँ स्थानमा भन्ने विषयमा वडावासीको एकमत हुन नसकेको कारण स्वास्थ्य चौकी निर्माणका लागि छुट्याईएको बजेट नै फ्रीज हुने अवस्थामा पुगेको छ ।
यस विषयमा हामीसंग कुरा गर्दै देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले पहिले शिलान्यास गरिएको स्थान उपयुक्त नदेखिएको र वडावासीको माग अनुसार विकासको सन्तुलन कायम गर्न पनि सौधन्य क्षेत्रमा स्वास्थ्य चौकी निर्माण गर्ने नगरपालिकाको पछिल्लो निर्णय भएको र उक्त निर्णयमा आफु प्रतिबद्ध रहेको बताए । स्वास्थ्य चौकी निर्माणमा वडा कार्यालयलाई नै स्थान तय गर्न दिईएको र सबै वडामा सोही अनुसार कार्य भएपनि वडा नं. ११ मा भने वडाले निश्चित गरेको स्थानमा वडावासीले विरोध जनाएका कारण अर्को स्थान तोकीएको नगरप्रमुख खत्रीको भनाई छ ।
यद्यपि नयाँ तोकीएको स्थानमा पनि जगको लागि खाल्डो खन्दै गर्दा उक्त जग्गा बनमा पर्ने भन्दै बन कार्यालयले काम रोक्न अनुरोध गरेपछि निर्माण कार्य रोकिएको छ । यसरी जगको लागि खाल्डो खनिएको दोस्रो स्थानमा पनि काम नहुने लगभग निश्चित छ ।
दोस्रो स्थानमा पनि काम नहुने भएपछि सौधन्य क्षेत्रकै अर्को स्थान तय गरिएको र उक्त स्थान उपयुक्त रहेको सौधन्य क्षेत्रमा स्वास्थ्य चौकी निर्माणका लागि बनाईएको संघर्ष समितिका संयोजक ज्ञानप्रसाद न्यौपानेले बताए । वडा अध्यक्षले सबै विकास निर्माण आफुलाई पायक पर्ने स्थानमा बनाएका कारण आफुहरुले पटक पटक आन्दोलन गरेर नगरपालिकाको पुरानो निर्णयलाई सच्याउन सफल भएको र नगरपालिकाको पछिल्लो निर्णयमा वडा अध्यक्ष समेत सहमत भइ हस्ताक्षर गरेको भएपनि पछि आएर वडा अध्यक्षले बखेडा झिकेर निर्माण कार्य रोकेको उनको आरोप छ ।
यता, वडा अध्यक्ष अमर बहादुर चौधरी भने शिलान्यास भैसकेको हुनाले पुरानै स्थानमा स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने बताउँछन । सबै सरकारी कार्यालय एकै क्षेत्रमा हुँदा नागरिकलाई नै सजिलो हुने भएकोले वडा कार्यालय समेत नजिक रहेको पुरानै स्थान स्वास्थ्य चौकी निर्माणका लागि उपयुक्त हुने उनको भनाई छ ।
चेपुवामा ठेकेदार
उक्त स्वास्थ्य चौकी निर्माणको जिम्मा पाएको भुसाल निर्माण सेवा प्रा. लि. का प्रतिनिधि बम बहादुर आलेले वडावासी, वडा अध्यक्ष र नगरपालिकाको विवादको विचमा आफू परेको बताए । सुरुमा सिक्टहन क्षेत्रमा जगको लागि खाल्डो खनियो । पछि अर्को तिर सहमति भयो भनियो र अर्को तिर खाल्डो खनियो । त्यहाँ पनि बनले रोक्यो ।अहिले आएर वडा अध्यक्षले पुरानै स्थानमा बनाउन दवाव दिएको र नगरपालिकाले नयाँ स्थानमा निर्माण गर्न भनेको हुनाले कुन स्थानमा काम गर्ने भन्ने दुविधा कायम रहेको उनको गुनासो छ ।
"नयाँ स्थानमा काम सुरु गर्न पुरानो स्थानमा तयार गरि राखेका निर्माण सामग्री त्यहाँबाट नसार्न वडा अध्यक्षले दवाव दिएको र पुरानो स्थानमा बनाउन नगरपालिकाले अर्को निर्णय गरेको हुनाले नमिल्ने । आर्थिक बर्ष सकिनै लाग्दा समेत काम सुरु हुन सकेको छैन" - निर्माण व्यवसायी आलेको भनाइ छ ।
अहिले सम्म दुई स्थानमा जगको लागि खाल्डो खनिसकेका उनले आफू तेस्रो स्थानमा पनि काम गर्न तयार रहेको तर त्यसको लागि सम्बन्धित पक्षले काम गर्ने वातावरण बनाईदिनुपर्ने उनी बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology