धादिङ । धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो गजुरी गाउँपालिका–२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्।
माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार ती महिलाको सनाखत भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ।
यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology