कविता: एकभोट लिलाममा
जताततै घुमिरहे
हारैहारमा झुमिरहे
तिमी संग गुनासो
कसरी गरौं खोई
सोँच्न अब बाध्य भए
तिमीले मेरो ढाड भाचिदियौ
नसाहरू च्यापी दियौ
रगत जति चुसेर
फुस्रो शरीर बनाई दियौ
पैतालाहरु फुटीसके
कम्बरहरु झुकीसके
कपाल सेतै फुलिसके
अनिकाल भोकमरीमा
भोकहरु मरिसके
हाड र छाला मात्र भएको
यो शरीर त अब
किन्दैनौं होला तिमी
तिमीले किन्ने एउटा चीज
अझै बाकी छ म संग
यो अवस्थामा
म तिम्रो जात हेर्दिन
पार्टी हेर्दिन
धर्म हेर्दिन,झण्डा हेर्दिन
चुनाव चिन्ह हेर्दिन
तिमी पैसा लिएर किन्न आउँ
तिम्रो खुसीमा काम आउँछ
तिम्रो अरु प्रगति गराउँछ
त्यसैले मैले एकभोट
लिलाममा राखेको छु
किनकी,
एकभोट लिलाम गरेर
म तिम्रो पैसाले मेरो लागि
कात्रो किन्न चाहन्छु
- नारायण कोइराला, तानसेन,पाल्पा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology