देवदह । नेकपा (एमाले) का देवदह नगर अध्यक्षले शनिबार पार्टी परित्याग गरेर प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी घोँषणा गरेपछि देवदहका युवाहरूले सामाजिक संजालमा बधाई दिएका छन् । विभिन्न पार्टीमा रहेका युवाहरूले आगामी निर्वाचनमा टिकाराम चापागाईं विकल्पको रुपमा उदाएको भन्दै बधाई दिएका हुन् ।
सामाजिक संजाल फेसबूकमा लेख्दै युवा साहित्यकार तथा अधिवक्ता विनोद उदयले चापागाईंले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु एमालेको लागी ठुलो धक्का हुनसक्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'जानिफकारहरुका अनुसार युवाहरुका माझमा उहाँको लोकप्रियता राम्रो रहेको, सरकारी गठबन्धन (काङ्ग्रेस+माओवादी+एकीकृत समाजवादी+जसपा) र प्रतिपक्षी गठबन्धन (एमाले+राप्रपा) बाट देवदहले कुनै उम्मेदवार नपाउने सम्भावना रहेको तथा एमालेको असन्तुष्ट तप्का ठुलै रहेको आदि कारणले टिकाराम चापागाईंको पार्टी परित्याग र उम्मेदवारी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।'
त्यसैगरी देवदह कै अर्का युवा दिपक खरेलले सामाजिक संजालमा लेख्दै निरन्तरतामा क्रमभंगता भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'एमालेभित्रकाे गलत प्रविृत्ति बिरुद्ध धावा बाेल्ने टिकाराम दाजुलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना । युवाले खाेजेकाे, पात्र आवश्यता र समयकाे माग l'
त्यसैगरी चापागाईंको पार्टी परित्याग र स्वतन्त्र उम्मेदवारी तर्फ संकेत गर्दै पत्रकार समेत रहेका युवा पवन पौडेलले टिप्पणी गरेका छन् - 'हामिले नगरे कसले गर्ने ! आखिर सुरुवात त जसले गरेपनि गर्नैपर्थ्यो !'
अर्का युवा दिपक लम्सालले पनि चापागाईंलाई जीतको शुभकामना दिंदै लेखेका छन् - 'पेसाले अधिवक्ता, समाजसेवी रुपन्देही -१ मा सबै युवाका प्रीय, हेविबेट नेताहरुलाई पछार्न सक्ने खुबी भएका बाहरुको सेन्डिकेट तोडेर स्वतन्त्रमा उम्मेदवारी दिनुभएको छ, उहाँको जित होस, शुभकामना' ।
पार्टी परित्याग र सामाजिक संजालमा आएका प्रतिक्रियाको बारेमा सेतोमसीसंग कुरा गर्दै चापागाईंले देवदहका सबै पार्टीभित्रका युवाहरूको आफुलाई साथ रहेको बताए । युवाहरूको साथ र भरोसाकै कारण आफू अगाडि बढेको बताउँदै उनले आफुले युवाहरूको भरोसामा कुठाराघात नगर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology