प्रिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर-५, देवीपुर-डालपुर जोड्ने विश्वा खोलामा पुल नहुँदा विद्यार्थीलाई सास्ती भएकाे छ । वारि विद्यालय, पारी विद्यार्थी हुँदा बर्षयाममा अध्ययनका लागि विद्यालय आवतजावत गर्न सास्ती हुँदै आएकाे छ ।
पुल हुने स्थानमा साना २ थान ह्युम पाइप राखिएको छ । सानो डाइभर्सन जस्तो देखिने ह्युमपाइप वरिपरिको माटो समेत पछिल्लो वर्षाले बगाएको छ । सो वडाको करिब सात टोलका बालबालिकाहरु अध्ययन गर्ने एक मात्र विद्यालय पुग्न खोला पार गर्नुपर्ने बाध्यता छ । पुल नहुँदा केही बालबालिका खोलामा डुबेर मृत्यु समेत भएकाे स्थानीयले बताएका छन् ।
आइतबार शिव माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत ७ बर्षीय राजेश यादव विद्यालय जाँदा काठकाे फड्केकाे सहारा लिएर हिँड्ने गरेका छन् । ती बालक फड्केमा हिँड्न नसकेर बीच भागमा पुगेर डरले भक्कानियर राेएकाे स्थानीय शम्भु वि.क.ले बताए ।
हातमा चप्पल समाएर हिलम्मे खुट्टा थरथर काम्दै विद्यालय जानुपर्ने बाध्यता रहेकाे समेत वि.क.ले जनाए । फड्केमा हिँड्न नसक्ने उनी एक पात्र हुन् । उनी जस्तै सयाैँ बालबालिका दिनहुँ जाेखिम मल्दै आएका छन् ।
विद्यालय पुग्न खोला पार गर्नुपर्छ । पानी पर्दा ठूलो भेल आउँछ । करिब १ हप्तासम्म पानी बगिरहन्छ । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक-पटक लडिएको छ । ड्रेस, किताब र झोला समेत भिजेका छन् ।
केही साथीहरूको चोट पटक लागेर घाइते पनि भएका छन् । विजयनगर गाउँपालिकाको शिव मावि डालपुर कक्षा १० मा अध्ययनरत रन्जु कुर्मीले विद्यालय पुग्दाको व्यथा सुनाउँदै भनिन् । “सरकार हामीलाई विद्यालय पुग्न पुल देऊ !”
शिक्षक बालजी कलवारले खोला पारिका करिब २ सय ५० बालबालिका विद्यालयमा अध्ययनका लागि आउने गरेकाे जनाए । वर्षा भयो भने बाढीका कारण बालबालिकाहरू जोखिम मोल्दै विद्यालय पुग्नु पर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाका ठाकुरापुर, देवीपुर, दत्तपुर र कटानिया लगायतका बस्तीलाई जोड्ने खोलामा पुल नहुँदा बालबालिका मात्र नभई स्थानीयले समेत सास्ती व्यहोर्नुपरेको छ । अहिले बालबालिका विद्यालय पुग्न काठको फड्केको सहारा लिनु परेकाे छ ।
उक्त विद्यालयमा अध्ययनरत बालिका पूर्णिमा विश्वकर्माले पुल नहुँदा विद्यालय जाने क्रममा हिलोमा चिप्लिएर केही विद्यार्थी घाइते भएको बताउँछिन् । पुल निर्माणका लागि डिपिआर तयार गरी प्रदेश सरकारलाई अनुरोध गरेको पालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
सो स्थानमा १ सय ५० मिटर लामो मोटरेवल पुल आवश्यक परेको हुँदा सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ नभएको अध्यक्ष थापाले गुनासो गरे । पुल निर्माणमा माथिल्ला दुई सरकारको सहयोग भएमा सडक स्तरउन्नती गर्ने गाउँपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology