काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको छ।
मंगलबार बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन कुमार थापाले सेतोपाटीलाई जानकारी दिए।
थापाकाअनुसार यसपालि दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला गरिनेछ। यसअघि यो ढोका शिवरात्रिका बेला केहीबेर खुलाइएको थियो।
पशुपतिनाथको पूर्वी ढोका २०६५ सालपछि पहिलोपटक आज दिनभरिका लागि खोलिएको उनले बताए। पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो।
बिहान आठ बजेसम्म भक्तजनले सहज रूपमा लाइनमा बसेर दर्शन गरिरहेका छन्।
यस वर्ष कोटेश्वर–तीनकुने -सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ।
यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ।
यस्तै दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ। यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ ।
तेस्रो लाइन गौशाला–पिङ्गलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ।
यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिने छ। यस स्थानको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ।
चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ।
यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरू मन्दिरअघिको खुला भागमा राखिनेछ। यहाँ भक्तजनको जत्ता चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ।
लाइनै पिच्छे स्वयमसेवक परिचालन भएका छन्।
मूल मन्दिरभित्र भने महिला सुरक्षाकर्मी र महिला स्वयसेवक खटिएका छन्श्र अहिले भक्तजनले सजिलै पशुपति मन्दिरको दर्शन गर्न पाएका छन् ।
दिउँसोको समयमा भने भिड अझ बढ्न सक्ने भएकाले त्यही अनुसारको व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिए। भक्तजनको स्वास्थ्यलाई ख्याल गर्दै पशुपति परिसरमा स्वास्थ्य शिविर पनि राखिएको छ। यस्तै, ठाउँ ठाउँमा पानी, जुस लगायतको पनि व्यवस्था गरिएको छ।
मूल मन्दिर परिसरको तस्बिर खिचे नगद जरिवाना
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ।
पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही छ। पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले बताए।
सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो।
गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय रूपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रुपैयाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० रुपैयाँ जरिवाना गर्न लागिएको हो।
पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा तस्बिर खिचे/नखिचेको अनुगमनका लागि कोषका कर्मचारीलाई खटाइएको उनले बताए।
कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरूष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology