पाेखरा । दोस्रो जनआन्दोलनका प्रथम सहिद भीमसेन दाहालका छोरालाई एमबीबीएस अध्ययन गर्न पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ ।
सात दलले आह्वान गरेको २०६२/०६३ को आन्दोलनका क्रममा २०६२ चैत २६ गते पोखराको महेन्द्रपुलमा नेपाली सेनाको गोली लागेर ज्यान गुमाएका भीमसेनका छोरा विस्तृत दाहाललाई महानगरले एमबिबिएस पढ्ने व्यवस्था मिलाउने भएको हो।
पोखरा महानगरपालिकाको कार्यपालिकाको पाँचौँ बैठकबाट विस्तृतलाई पोखरा कै मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस अध्ययन गर्न लाग्ने खर्चको व्यवस्थापन गर्ने निर्णय गरेको मेयर धनराज आचार्यले दिए ।
"चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा नाम निकालेका आफ्ना छोरालाई डाक्टरी पढाउने व्यवस्था गरिदिन भन्दै उहाँकी आमा सविता पौडेलले महानगरमा निवेदन दिनुभएको रहेछ । निवेदन हेरेपछि वास्तविकता बुझ्दा उहाँ छोरालाई डाक्टरी पढाउन सहयोग माग्दै केन्द्र सरकारसम्म पुगेर सहयोगको याचनाग गर्दा समेत उपाय नलागेपछि ठूलो आस राखेर महानगर आउनुभएको थाहा पायौँ’, मेयर आचार्यले भने, ‘एक त जनआन्दोलनका प्रथम सहिद त्यही माथि काभ्रे जिल्लाबाट पोखरा आई व्यापार व्यवसाय गर्ने क्रममै ज्यान गुमाएका व्यक्ति, उहाँको सम्मान स्वरूप सन्तानलाई पढाउने जिम्मेवारी हामीले लिन पर्छ भनेर नै कार्यपालिकाबाट पढ्ने खर्चको व्यवस्था गर्ने निर्णय गरेका हौँ'मेयर आचार्यले भने ।’
मेयर आचार्यका अनुसार मेडिकल काउन्सिलले निकालेको सर्ट लिस्टबाट विस्तृतले एमबीबीएस अध्ययनका लागि मणिपाल शिक्षण अस्पताल रोजेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology