बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक विदाको दिन सरकारी सवारी नचलाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्णयहरू सार्वजनिक गर्दै सवारी चलाउनै परे अनिवार्य पास लिन अनुरोध गरेको छ ।
त्यसैगरी नागरिकता प्रमाणपत्र, प्रतिलिपि नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र तथा व्यक्ति प्रमाणित लगायतका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाका लागि गरिने सिफारिसहरुमा एकरुपता ल्याउने र यसरी गरिने सिफारिसहरुलाई त्रुटिरहित बनाउन सबै स्थानीय तहले नवनिर्वाचित जनप्रतिनिधि एवं वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षित गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।
बेमौसमी बर्षाका कारण गत वर्ष धानबालीमा पुगेको क्षतिलाई राहत उपलब्ध गराउने मापदण्ड बमोजिम कार्य अगाडी बढिरहेको सन्दर्भमा उक्त कार्यलाई यथाशिघ्र सम्पन्न गर्नका लागि सबै स्थानीय तहहरुले सहयोग लिने निर्णय समेत प्रशासन गरेको छ ।
यी हुन्, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गरेका ६ निर्णय
१. नागरिकता प्रमाणपत्र, प्रतिलिपि नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र तथा व्यक्ति प्रमाणित लगायतका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाका लागि गरिने सिफारिसहरुमा एकरुपता ल्याउने । यसरी गरिने सिफारिसहरुलाई त्रुटिरहित बनाउन सबै स्थानीय तहले नवनिर्वाचित जनप्रतिनिधि एवं वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षित गर्ने ।
२. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा र श्रम कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृतिका लागि गरिने online आवेदन कार्यलाई सहज बनाउन प्रत्येक स्थानीय तहमा हेल्प डेस्क स्थापना गरी आफ्नो पालिका अन्तर्गतका सेवाग्राहीहरुलाई online आवेदन सम्बन्धी निशुल्क सेवा प्रदान गर्ने । ↓
३. बेमौसमी बर्षाका कारण गत वर्ष धानबालीमा पुगेको क्षतिलाई राहत उपलब्ध गराउने मापदण्ड बमोजिम कार्य अगाडी बढिरहेको सन्दर्भमा उक्त कार्यलाई यथाशिघ्र सम्पन्न गर्नका लागि सबै स्थानीय तहहरुले सहयोग गर्ने ।
४. सार्वजनिक विदाको समयमा सरकारी सवारी साधन नचलाउने । कार्यालयको कामकाजको लागि चलाउन पर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य रुपमा सवारी पास लिएर चलाउने ।
५. कार्यालय प्रमुखको बैठक, जिल्ला विपद् व्यवस्थापन समितिको बैठक लगायत जिल्ला प्रशासन कार्यालयले आयोजना गरेका बैठकहरुमा अनिवार्य रुपमा सहभागी हुने ।
६. जिल्लामा कोभिड-१९ को संक्रमण दर विस्तारै बढिरहेको सन्दर्भमा सबै स्थानीय तहले आफु मातहतका स्वास्थ्य संस्थाहरुलाई साधन स्रोत सम्पन्न बनाई तयारी अवस्थामा राख्ने साथै संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मापदण्डको परिपालनाका लागि सचेतना कार्यक्रम संचालन गर्ने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology