विष्णु पोखरेल, देवदह । माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजा आउँदा नआउंदै ११ र १२ कक्षा अध्यापन हुने विद्यालयमा विद्यार्थी भर्नाको होडबाजी नै चल्छ । विद्यार्थीलाई प्रभावित गर्न विद्यालयहरूले अनेक प्रलोभन देखाउँछन् । जसका कारण अधिकांश विद्यालयमा विद्यार्थी र अभिभावकहरू नराम्रोसंग ठगिन्छन पनि । मुख्य गरेर कक्षा ११ मा भर्ना लिनेबेला विद्यार्थीलाई विभिन्न छुटको आश्वासन दिने र उही विद्यार्थी कक्षा १२ मा गएपछि अनेक शिर्षकमा शुल्क असुल गर्ने काम अधिकांश विद्यालयमा हुँदै आएको अभिभावक र विद्यार्थीको गुनासो आउने गर्छ । यस विषयमा बिस्तृत रिपोर्ट हामी अर्को समाचारमा प्रस्तुत गर्नेछौं । यो रिपोर्टमा हामी देवदह नगरपालिकाभित्र संचालन भएका विद्यालयमध्य कुन विद्यालयमा के विषय अध्यापन गराइन्छ र देवदहमा ११ र १२ कक्षाको शैक्षिक अवस्था कस्तो छ भन्ने उल्लेख गर्नेछौं ।
देवदह नगरपालिकाभित्र संचालित ३० सामुदायिक र १७ संस्थागत विद्यालयमध्ये ९ सामुदायीक र ४ संस्थागत विद्यालयले कक्षा ११ र १२ अध्यापनको अनुमति प्राप्त गरेका छन् । यसरी हेर्दा सामुदायीक र संस्थागत गरि देवदहमा १३ वटा विद्यालयमा १२ सम्म पढाइ हुन्छ । तथ्याङ्कले १२ वटा वडा भएको देवदहमा औषतमा एक वडा एउटा विद्यालयमा १२ कक्षासम्म माध्यमिक शिक्षा रहेको देखिएपनि पनि अवस्था ठ्याक्कै त्यस्तो भने छैन। अधिकांश विद्यालयहरू पुर्वपश्चिम लोकमार्ग अन्तरगत पर्ने मुख्य बजार क्षेत्रमा रहेका छन् ।
त्यसो त देवदहमा संचालित विद्यालयहरूले देवदहका मात्रै नभएर सिमा जोडिएको पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका केहि वडाक्षेत्रमा बसोबास रहेका विद्यार्थीहरूलाई समेत शिक्षाको उज्यालो प्रदान गर्दै आएका छन् ।
यी हुन् देवदहमा कक्षा ११ र १२ पढाई हुने विद्यालयहरू
महामाया भवानी माध्यमिक विद्यालय: देवदह नगरपालिका ४ स्थित भवानीपुरमा रहेको यो विद्यालय देवदहमा १०+२ अध्यापनको लागि अनुमति प्राप्त गर्ने पहिलो विद्यालय हो। वि.स. २०५१ सालमा १०+२ अध्यापनको अनुमति लिएको यस विद्यालयमा व्यवस्थापन र शिक्षा संकायमा विभिन्न विषयहरू अध्यापन हुँदै आएको छ। विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालका अनुसार विद्यालयमा व्यवस्थापन तर्फ़ लेखा, फाइनान्स लगायतका विषय अध्यापन हुँदै आएको छ भने शिक्षा तर्फ़ अंग्रेजी, नेपाली र गणित विषय पढाइ हुने गर्छ। गतवर्ष कक्षा ११ मा ६० जना विद्यार्थी भर्ना गरेको यस विद्यालयले यो साल ७० देखि ७५ को संख्यामा विद्यार्थी भर्ना गर्ने तयारी गरिरहेको छ।
केरवानी माध्यमिक विद्यालय: महामाया भवानीपुर माविले भन्दा ४ वर्ष पछि वि. सं. २०५५ सालमा १०+२ अध्यापनको अनुमति लिएको केरवानी मावि देवदह ५ स्थित खैरेनीमा अवस्थित छ। नमुना विद्यालयको रुपमा प्रख्यात यस विद्यालयमा विज्ञान, कृषि विज्ञान, व्यवस्थापन र शिक्षा समुहमा विभिन्न विषयहरू अध्यापन गराईन्छ । देवदह नगरपालिकामै पहिलो पटक विज्ञान विषय पढाउने अनुमति पाएको यस विद्यालयमा होटल म्यानेजमेन्ट र कृषि विज्ञान समेत अध्यापन हुदै आएको छ। देवदहमा ११-१२ अध्यापन हुने विद्यालयमध्य सबैभन्दा धेरै विद्यार्थीलाई अध्यापन गराउदै आएको यो विद्यालयमा गतवर्ष कक्षा ११ मा ३०० बढी विद्यार्थी भर्ना भएका थिए। विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माका अनुसार यो वर्ष विद्यार्थीको संख्यामा थप वृद्धि गर्ने विद्यालयको तयारी छ।
देवदह माध्यमिक विद्यालय: देवदह ७ वनचौकीस्थित यस विद्यालयले वि. सं. २०६८ मा १०+२ अध्यापनको अनुमति पाएको हो। विद्यालयका प्रधानाध्यापक केशव प्रसाद घिमिरेका अनुसार हाल विद्यालयमा व्यवस्थापन र शिक्षा समुहमा विभिन्न विषय अध्यापन हुँदै आएको छ। जसमध्य व्यवस्थापनमा लेखा, फ़ाइनान्स लगायतका विषय तथा शिक्षा तर्फ़ नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू रहेका छन्। गतवर्ष कक्षा ११ मा ६५ जना विद्यार्थी भर्ना लिएको यस विद्यालयले विद्यार्थीको संख्यामा यो पटक थप वृद्धि गर्ने जनाएको छ।
भविष्य निर्माण माध्यमिक विद्यालय: देवदह नगरपालिका वडा नं. २ ढेकावरमा अवस्थित यो विद्यालयले वि. सं. २०६७ सालमा १०+२ अध्यापनको अनुमति प्राप्त गरेको हो। हाल व्यवस्थापन र शिक्षा समुहमा विभिन्न विषय अध्यापन गराउदै आएको यस विद्यालयमा गतवर्ष ५० जना विद्यार्थी कक्षा ११ मा भर्ना भएका थिए। विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद खरेलका अनुसार विद्यालयले व्यवस्थापन संकायमा लेखा, फाइनान्स र कम्प्युटर साइन्स तथा शिक्षा संकायमा अंग्रेजी, स्वास्थ्य, गणित र अर्थशास्त्र अध्यापन गराउदै आएको छ।
जनप्रिय माध्यमिक विद्यालय: देवदह १० भलुहीमा अवस्थित यस विद्यालयले वि. सं. २०७५ सालमा ११-१२ को अध्यापन अनुमति प्राप्त गरेको हो । विद्यालयका प्रधानाध्यापक गायत्रीप्रसाद खरेलका अनुसार हाल विद्यालयमा व्यवस्थापन र शिक्षा समुहमा अध्यापन हुँदै आएको छ। जसमध्य व्यवस्थापन तर्फ़ लेखा र कम्प्युटर विज्ञान तथा शिक्षातर्फ़ नेपाली र बाल विकास र सिकाई विषय अध्यापन गरिन्छ। विद्यालयमा गत वर्ष कक्षा ११ मा ६२ जना विद्यार्थी विद्यार्थी भर्ना भएका थिए।
प्रगति माध्यमिक विद्यालय: देवदह १२ स्थित प्रगति माविले वि. सं. २०७५ सालमा ११-१२ अध्यापनको अनुमति प्राप्त गरेको हो । विद्यालयका प्रधानाध्यापक हुम प्रसाद पाठकका अनुसार विद्यालयमा दुई समूहमा कक्षा संचालित छन् । जसमध्य व्यवस्थापन तर्फ़ लेखा र शिक्षा तर्फ़ बाल विकास र सिकाइ, नेपाली र अंग्रेजी विषय अध्यापन गराईन्छ। गतवर्ष ३९ जना विद्यार्थी उक्त विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए ।
खड्ग माध्यमिक विद्यालय: देवदह १ विर्तास्थित खड्ग माविले वि. सं. २०७५ सालमा ११-१२ अध्यापनको अनुमति प्राप्त गरेको हो । विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतका अनुसार विद्यालयमा व्यवस्थापन र शिक्षा समुहमा अध्यापन हुनेगर्छ । व्यवस्थापन तर्फ लेखा र शिक्षा तर्फ़ नेपाली र स्वास्थ्य विषय अध्यापन गराईन्छ। गतवर्ष ३४ जना विद्यार्थी उक्त विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए । यो शैक्षिक शत्रमा ४० देखि ५० जना विद्यार्थी कक्षा ११ मा भर्ना हुने अपेक्षा विद्यालयले गरेको छ ।
सिता माध्यमिक विद्यालय: देवदह १० चरंगेस्थित सिता माविले वि. सं. २०७७ सालमा ११-१२ अध्यापनको अनुमति प्राप्त गरेको हो । विद्यालयका प्रधानाध्यापक महेश कुमार थैवका अनुसार विद्यालयमा दुई संकाय संचालित छन् । जसमध्य व्यवस्थापन संकाय तर्फ़ लेखा र शिक्षा तर्फ़ बाल विकास र सिकाइ, स्वास्थ्य, नेपाली र अंग्रेजी विषय अध्यापन गराईन्छ। विद्यालयमा गतवर्ष ५५ जना विद्यार्थी कक्षा ११ मा भर्ना भएका थिए ।
सिक्टहन माध्यमिक विद्यालय: देवदह १२ ढोलबजवास्थित सिक्टहन माविले वि. सं. २०७७ सालमा ११-१२ अध्यापनको अनुमति प्राप्त गरेको हो । विद्यालयका प्रधानाध्यापक दुधनाथ कुंवरका अनुसार विद्यालयमा शिक्षा संकाय संचालित छ। जसमा नेपाली, अंग्रेजी र वातावरण शिक्षा विषय अध्यापन गराईन्छ। विद्यालयमा गतवर्ष ५० जना विद्यार्थी कक्षा ११ मा भर्ना भएका थिए ।
सगरमाथा आवासिय माध्यमिक विद्यालय: देवदह ७ शितलनगरस्थित सगरमाथा आवासिय माविले वि. सं. २०६४ सालमा १०+२ अध्यापनको अनुमति प्राप्त गरेको हो । विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलका अनुसार विद्यालयमा विज्ञान, व्यवस्थापन र शिक्षा समूहमा अध्यापन हुँदै आएको छ। विद्यालयमा कम्पुटर विज्ञान, फ़ाइनान्स, होटेल म्यानेजमेन्ट लगायतका विषयको पढाइ हुनेगर्छ। गतवर्ष कक्षा ११ मा २१० जना विद्यार्थी भर्ना लिन सफल यस विद्यालयले यो वर्ष २५० बढी विद्यार्थी भर्ना लिने गरि तयारी गरेको छ ।
ग्रीन प्लान्ट आवासिय माध्यमिक विद्यालय: देवदह ७ बुद्धचोकस्थित ग्रीन प्लान्ट आवासिय माविले वि. सं. २०६४ सालमा १०+२ अध्यापनको अनुमति प्राप्त गरेको हो । विद्यालयका प्राचार्य राजीव सापकोटाका अनुसार विद्यालयमा विज्ञान, व्यवस्थापन र शिक्षा समूहमा अध्यापन हुँदै आएको छ। विज्ञान विषयसंगै व्यवस्थापनमा फ़ाइनान्स, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स तथा शिक्षा संकायमा स्वास्थ्य र अंग्रेजी विषयको पढाइ विद्यालयमा हुनेगर्छ । गतवर्ष कक्षा ११ मा २२० जना विद्यार्थी गतवर्ष कक्षा ११ मा २२० जना विद्यार्थी भर्ना लिएको यस विद्यालयले यो वर्ष पनि २२० जना विद्यार्थी भर्ना लिने लिने बताएको छ ।
बुद्ध पब्लिक आवासिय माध्यमिक विद्यालय: देवदह ५ मा अवस्थित बुद्ध पब्लिक आवासिय माध्यमिक विद्यालयले वि. सं. २०७३ सालमा १०+२ अध्यापनको अनुमति प्राप्त गरेको हो । विद्यालयका प्राचार्य कृष्ण प्रसाद गैरेका अनुसार विद्यालयमा व्यवस्थापन, मानविकी र शिक्षा समूहमा अध्यापन हुँदै आएको छ। व्यवस्थापन तर्फ़ होटेल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढिरहेको विद्यालयले जनाएको छ। त्यसैगरि शिक्षा र मानविकी समूह तर्फ अंग्रेजी विषयको पढाइ विद्यालयमा हुनेगर्छ । गतवर्ष कक्षा ११ मा ६५ जना विद्यार्थी भर्ना लिएको यस विद्यालयले यो वर्ष १५० बढी विद्यार्थी भर्ना लिने बताएको छ ।
सेभेन स्टार इंलिश बोर्डिंग हाइ स्कुल: देवदह २ ढेकावरस्थित सेभेन स्टार इंलिश बोर्डिंग हाइ स्कुलले वि. सं. २०७५ सालमा ११-१२ अध्यापनको अनुमति प्राप्त गरेको हो । विद्यालयका प्राचार्य टिकाराम चापागाईंका अनुसार विद्यालयमा व्यवस्थापन र शिक्षा समूहमा अध्यापन हुँदै आएको छ। व्यवस्थापनमा फ़ाइनान्स, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स तथा शिक्षा समूहमा स्वास्थ्य, नेपाली र अंग्रेजी विषयको पढाइ विद्यालयमा हुनेगर्छ । गतवर्ष कक्षा ११ मा ५० जना विद्यार्थी भर्ना लिएको यस विद्यालयले यो वर्ष विद्यार्थीको संख्यामा वृद्धि हुने जनाएको छ ।
यसरी देवदहमा रहेका ११ र १२ अध्यापन हुने विद्यालयमा करिव १ हजार २ सय विद्यार्थीलाई गतसाल कक्षा ११ मा भर्ना लिईएको तथ्यांकले देखाउँछ । यो वर्ष १ हजार ५ सय वढी विद्यार्थीलाई कक्षा ११ मा भर्ना लिने तयारीमा यहाँका विद्यालयहरू छन् । भर्खरमात्रै नतिजा आएको एसईई ब्याज २०७८ मा देवदहका विभिन्न विद्यालयहरूबाट सहभागी भएका विद्यार्थीको संख्या झन्डै १ हजार ३ सय रहेकोमा ति सबै विद्यार्थीलाई देवदहमै कक्षा ११ मा भर्ना लिन र उनीहरूको रोजाइको विषय अध्यापन गराउन यहाँका विद्यालयहरू सक्षम रहेको विद्यालयका प्रधानाध्यापकहरू बताउँछन् ।
यसरी विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सबै संकायमा देशका ठूला सहरमा पढाई हुने विषयहरू देवदहमै अध्यापन गराइने हुँदा देवदहका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाहिरिनुपर्ने बाध्यता लगभग टरेको छ।
विगतमा 'एसएलसी' (जतिबेला अहिलेको 'एसईई' लाई 'एसएलसी' भनिन्थ्यो र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाल प्रथम घोंषणा गरिन्थ्यो) को नतिजामा नेपाल प्रथम तथा गतवर्ष मात्रै विविएस तर्फ़ नेपाल प्रथम (दावी गरिएको) हुने विद्यार्थी उत्पादन गरेको देवदहको शैक्षिक भविष्य उज्जवल देखिन्छ। देवदहका विद्यार्थीलाई देवदहमै रोक्न मात्रै होइन, यहाँका विद्यालयहरूले राम्रो मेहेनत गरेकोमा देवदह यस क्षेत्र कै 'शैक्षिक हब' बन्न सक्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology