काठमाडौँ । रुसले सोभियत संघ विघटनपछि सबैभन्दा ठूलो रक्षा बजेट सार्वजनिक गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको सरकारले आगामी तीन वर्षमा सेनामा करिब ८६ लाख ४० हजार करोड नेपाली रुपैयाँ बराबर खर्च गर्ने योजना बनाएको छ । यसअनुसार रुसले वार्षिक औसत २८ लाख ८० हजार करोड रुपैयाँ सेनामा खर्च गर्नेछ । यो नेपालको नजिकको छिमेकी भारतको आर्थिक वर्ष २०२६/२७ को रक्षा बजेटभन्दा करिब २.३ गुणा बढी हो ।
सन् २०२७ मा रुसले सेनामा मात्रै करिब ३१ लाख ७४ हजार करोड रुपैयाँ खर्च गर्नेछ । यो सन् २०२६ का लागि छुट्याइएको २३ लाख ९२ हजार करोड रुपैयाँभन्दा ३३ प्रतिशत बढी हो । सन् २०२८ मा ३० लाख ७४ हजार करोड र सन् २०२९ मा ३० लाख १६ हजार करोड रुपैयाँ रक्षा क्षेत्रमा खर्च गर्ने अनुमान छ ।
सन् २०२७ मा रुस सरकारको कुल खर्चको ३५.२ प्रतिशत हिस्सा सेनाका लागि छुट्याइएको छ । सरकारले उक्त वर्ष कुल ४८.७४ लाख करोड रुबल खर्च गर्ने योजना बनाएको छ । युक्रेनमाथि सन् २०२२ मा आक्रमण सुरु गरेयता रुसले सेनामा करिब १०७ लाख ९२ हजार करोड रुपैयाँ खर्च गरिसकेको जर्मनीस्थित एक अनुसन्धान संस्थाका शोधकर्ता जेनिस क्लुगले बताएका छन् । आगामी तीन वर्षको प्रस्तावित बजेट पूर्ण रूपमा खर्च भए सन् २०२९ सम्म कुल सैन्य खर्च करिब १९९ लाख १२ हजार करोड रुपैयाँ पुग्ने अनुमान छ ।
सेनामा खर्च बढाउँदै लगेको रुसले स्वास्थ्य सेवा, पेन्सन तथा अन्य सार्वजनिक सुविधाको बजेट भने घटाउने भएको छ । सन् २०२७ मा अर्थतन्त्रसम्बन्धी खर्च ३ प्रतिशत, आवास तथा सार्वजनिक सुविधाको बजेट ८ प्रतिशत, स्वास्थ्य सेवाको खर्च ३ प्रतिशत र पेन्सन तथा सरकारी सहायता कार्यक्रमको बजेट ६ प्रतिशत घटाउने प्रस्ताव गरिएको छ ।
रुसको बढ्दो रक्षा खर्चले सरकारी बजेटमा दबाब पनि बढाएको छ । सन् २०२७ मा बजेट घाटा करिब १० लाख ६ हजार करोड रुपैयाँ पुग्ने अनुमान छ, जुन कुल गार्हस्थ्य उत्पादनको २.२ प्रतिशत हो। घाटा पूर्ति गर्न सरकारले ऋण लिनुपर्ने अवस्था आउने बताइएको छ ।
शोधकर्ता क्लुगका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा रुसले कुल सरकारी खर्चको करिब ४६ प्रतिशत रकम सेनामा खर्च गरेको थियो । उक्त अवधिमा सैन्य क्षेत्रमा मात्रै करिब १० लाख ९२ हजार करोड रुपैयाँ खर्च भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology