काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा ३३.३३ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । यस वर्ष कुल वैदेशिक व्यापारमा २ खर्ब ३४ अर्ब २९ करोड रुपैयाँले वृद्धि भएको देखिएको छ ।
समीक्षा अवधिमा वस्तु आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
त्यस्तै, वस्तु निर्यातमा भने आयातको तुलनामा बढी वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा निर्यात ४३.४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि नेपालको व्यापार घाटा भने घट्न सकेको छैन । समीक्षा अवधिमा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।
तथ्यांकअनुसार नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ । यसैगरी निर्यातको हिस्सा १३.३० प्रतिशतबाट बढेर १४.३१ प्रतिशत पुगेको छ ।
आयात र निर्यातको अनुपातसमेत गत वर्षको ६.५२ बाट घटेर ५.९९ मा झरेको छ । यसको अर्थ गत वर्षको तुलनामा यस वर्ष निर्यातको वृद्धि आयातभन्दा बढी रहे पनि निर्यातको तुलनामा आयातको आकार ठूलो भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology