काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंकासम्बन्धी समाचार सार्वजनिक भएपछि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ ।
चिनियाँ व्यवसायी महिला एलिस हुआङसँग जेन्सेनको निकट सम्बन्ध रहेको र उनी चीनका लागि गुप्तचरी गतिविधिमा संलग्न रहेको अमेरिकी गुप्तचर अधिकारीहरूको आशंका रहेको द न्युयोर्क टाइम्सले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहिएको विश्वास गर्ने कुनै आधार नरहेको बताएको छ । यद्यपि, सार्वजनिक भएका आरोपको सत्यतथ्य पत्ता लगाउन उपलब्ध सबै सूचनाको अध्ययन गरिने जनाएको छ । जेन्सेनले पनि अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच, जेन्सेनले आफ्नी श्रीमतीप्रति बेइमान भएको स्वीकार गर्दै पत्नी र छोराछोरीलाई चोट पुर्याएकोमा सार्वजनिक रूपमा माफी मागेका छन् । उनले आफूले गरेको गल्तीको पूर्ण जिम्मेवारी लिने बताउँदै कम्पनीका कर्मचारी, सञ्चालक समिति र सेयरधनीप्रतिको जिम्मेवारीसमेत पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।
एलिस हुआङ सिंगापुरमा रहेको तथ्याङ्क केन्द्रसम्बन्धी कम्पनी मेगास्पिडसँग आबद्ध रहेको बताइएको छ । अमेरिकी गुप्तचर निकायले उनको निगरानी गरेको र उनी चिनियाँ सरकारको तर्फबाट काम गरिरहेको निष्कर्ष निकालेको द न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ । यद्यपि, उनले चीनलाई कस्तो सूचना उपलब्ध गराएको भन्ने विषय भने स्पष्ट भएको छैन । चीनले भने एनभिडियाका प्रमुखमाथि गुप्तचरीको प्रयास भएको आरोपलाई आधारहीन अड्कलबाजी भन्दै अस्वीकार गरेको छ ।
यस घटनापछि अमेरिकी संसद्का तीन समितिका रिपब्लिकन नेताहरूले जेन्सेनलाई विदेशी गुप्तचर गतिविधिबाट कम्पनीको प्रविधि र सूचनाको सुरक्षा गर्ने व्यवस्थाबारे जवाफ दिन बोलाएका छन् ।
कृत्रिम बौद्धिकताका लागि आवश्यक अत्याधुनिक चिप उत्पादन गर्ने एनभिडिया अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धाको केन्द्रमा छ । करिब ४५ खर्ब अमेरिकी डलर बजार मूल्य रहेको कम्पनीका चिप बिक्रीमा अमेरिकाले यसअघि चीनमाथि विभिन्न प्रतिबन्ध लगाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology