काठमाडौं । यस वर्ष बडादसैँको महाअष्टमी तिथि दुई दिन परेकाले आइतबार र सोमबार अष्टमीको पूजा तथा व्रत गरिँदैछ । आइतबार, कात्तिक १ गते महाअष्टमी व्रत मनाइएको छ भने आज सोमबार, कात्तिक २ गते अष्टमी पूजा तथा व्रतलाई निरन्तरता दिइँदैछ ।
तिथिको घटबढ र पञ्चाङ्ग गणनाका कारण यस वर्ष अष्टमी दुई दिन परेको हो । सोहीअनुसार स्थानीय परम्परा र पञ्चाङ्गअनुसार भक्तजनले दुर्गा भवानीको पूजा आराधना गरिरहेका छन् ।
महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ । यस दिन दसैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा आराधना गरिन्छ। कतिपय स्थानमा परम्पराअनुसार पशुबलि दिने चलनसमेत रहेको छ ।
महाअष्टमीमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने धार्मिक मान्यता छ। वैदिक सनातन परम्परामा यस दिनलाई शक्ति स्वरूपा दुर्गा भवानीको आराधना गर्ने विशेष अवसरका रूपमा लिइन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology