काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । समितले आज बैठक बिहान ११: १५ बजेदेखि शुरु हुने जानकारी दिएको छ ।
आजको बैठकमा प्रस्तावित राजदूत उपर प्राप्त उजुरी खोल्ने र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।
यसअघि असोज ८ गते बसेको बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूतको सुनुवाई प्रक्रिया अगाडी बढाउने निर्णय गर्दै उजुरी आव्हान गरेको थियो ।
असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ । त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ । जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ । यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology