गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. १, नयाँगाउँमा रहेको पर्यटकीय स्थलको रूपमा परिचित झल्याकोट गुल्मी जिल्ला मात्रै नभएर यस क्षेत्रकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
मौलिक विशेषता र पहिचान बोकेको झल्याकोटले धार्मिक महत्त्व समेत बोकेको छ । असोज महिनामा सराय नाच हेर्नेको यहाँ घुइँचो त हुन्छ नै त्यो भन्दा बढी घुइँचो भने बर्खा समयमा घुम्न आउने पर्यटकको देख्न सकिन्छ।
आन्तरिक तथा बाह्य पर्यटक आउने यस ठाउँ पछिल्लो समयमा 'रक गार्डेन' को नामले पनि परिचित छ। झरी समयमा हरियाली दृश्य सँगै टाढा टाढा अवलोकन गर्न सकिने यो ठाउँ निकै रमणिय छ ।
गुल्मी र अर्घाखाँची जिल्लाका धेरै ठाउँ र उत्तर तर्फका हिमालहरु नियालेर आनन्द लिन चाहनेलाई यो स्थानले लोभ्याईरहन्छ । मनै आनन्दित गर्ने झल्याकोट दिने सुन्दर मात्रै छैन । शान्त अनि सफा पनि उत्तिकै छ ।
स्थानिय तहका पर्यटक अंगाली रहेको यस झल्यकोटले अब तपाईंलाई भेट्न आतुर छ । दिन चाहन्छ, आनन्द अनि भुलाउन चाहन्छ, तपाईंका पीडा । थकित शरीरलाई पिङमा बसेर अवलोकन गर्दा अझ मजा आउँछ ।
नवनिर्मित जनावरका सालिकसंग सेल्फी लिदा दिनहरु बितेको पत्तै पाइँदैन । गोठालो पनि सुस्केरासँगै रमाई रहेका हुन्छन ।
पर्यटकलाई ड्रोन क्यामराले कैद गर्ने भिडियो जस्तै गरी उडीरहने चिल रमाउँदै नाचेको दृश्य देख्न सकिन्छ । 'पिकनिक' को लागि उत्कृष्ट यस ठाउँ समथर भूभाग अग्लो ठाउमा रहेकोले होला जंगल देखि अलिक माथि हावा पानी मिलेको अझ आकर्षित र प्रभावित महसुस गर्न सकिन्छ ।
बुढाबुढीको लागि पिर चिन्ता भुलाउने थलो, प्रेमी जोडीका लागि 'डेटिङ' स्थल, बालबालिकाका लागि खेल मैदान जस्तै देखिने यस ठाउँलाई बालक देखि वृद्धसम्म सबैलाई उत्तिकै तानिरहन्छ ।
हरेक वर्ष झरीमा रुझ्न, रमाउँन पुगेको मेरो शरीर कहिले थाक्दैन रोक गार्डेनमा पुग्न । यही बसिरहु टोलाईरहुँ जस्तै गरी दिन बित्ने यस ठाउँमा नपुगेको कुनै वर्ष हुँदैन । झल्याकोटले तपाईं लाई खुसी पार्न तपाईंको पालो कुरिरहेको छ, स्वागत गर्न आतुर छ ।
- बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ
गुल्मी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology