काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको घटनालाई लिएर प्रश्न उठाएकी छन् ।
बमले सामाजिक सञ्जालमार्फत जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको विषयमा आपत्ति जनाएर ‘जेनजी भनेको को हो ? कुनै आतंकवादी संगठन हो वा भूमिगत सशस्त्र समूह हो ?’ भन्दै प्रश्न गरेकी छन् ।
उनले कानुनी प्रक्रिया र आधारबारे प्रश्न उठाउँदै शक्तिको आडमा आफूखुसी पक्राउ गर्ने र आरोप लगाउने काम स्वीकार्य नहुने बताएकी छन् । उनले ‘जेनजी’ शब्दलाई सरकारको अक्षमता ढाकछोप गर्न प्रयोग गरिएको हो कि भन्दै प्रश्नसमेत गरेकी छन् ।
बमले यदि जेनजीबाट संगठित सुरक्षा खतरा रहेको हो भने त्यसको प्रमाण सार्वजनिक गर्नुपर्ने बताएकी छन् । उनले जबरालाई राजनीतिक दाउपेचका कारण मध्यरातमा पक्राउ गरिएको दाबीसमेत गरेकी छन् ।
यसअघि प्रहरीले जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राख्न कार्यालयमा ल्याइएको बताएको थियो । प्रहरीले जबरालाई महाराजगञ्जस्थित निवासबाट बिहान करिब ३ बजे कार्यालयमा ल्याएको थियो र त्यस क्रममा पक्राउ पुर्जी दिएको थिएन । त्यसपछि उनलाई आजै अपराहन्न परिवारको जिम्मा लगाइएको बताइएको छ ।
बमले आफ्नो वक्तव्यमा ‘सुरक्षा निकायको कतिसम्म दुरुपयोग गरिरहेको सरकारले?’ भन्दै सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाएकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology