देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत देवदहमा स्नातक तहमा चिनियाँ भाषा अध्ययनरत २१ जनासहित ३१ जना विद्यार्थी एक वर्षे विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रमका लागि चीन प्रस्थान गरेका छन् । चीन जाने अन्य १० जना विद्यार्थी लुम्बिनीस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहमा भोट बौद्ध अध्ययन गरिरहेका विद्यार्थी हुन् ।
चीन प्रस्थान गर्ने विद्यार्थीहरू हाईनान प्रान्तस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमीमा अध्ययन गर्नेछन् । उनीहरूले त्यहाँ चिनियाँ भाषा, चिनियाँ बौद्ध संस्कृति तथा आफ्नो नियमित अध्ययनसँग सम्बन्धित विषय अध्ययन गर्ने विश्वविद्यालयले जनाएको छ ।
चीन जाने २१ जना विद्यार्थीले चिनियाँ भाषा दक्षता परीक्षाको तेस्रो तह (एचएसके–३) उत्तीर्ण गरेका छन् । त्यस्तै, लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा भोट बौद्ध अध्ययनमा स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीले चिनियाँ भाषाको दोस्रो तहको परीक्षा उत्तीर्ण गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटका नेपालतर्फका निर्देशक डा. रामचन्द्र कार्कीले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमा चिनियाँ भाषाप्रति राम्रो दक्षता विकास भएको बताए । विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रममार्फत उनीहरूलाई चिनियाँ भाषा र संस्कृतिसँग प्रत्यक्ष जोड्ने अवसर प्राप्त भएको उनको भनाइ छ ।
चाइनिज लर्निङ एण्ड टेस्टिङ सेन्टरकी निर्देशक याङ स्याकाले चीन जाने विद्यार्थीहरूले चिनियाँ भाषाको अध्ययनसँगै चिनियाँ बौद्ध संस्कृति र आफ्नो नियमित विषयसँग सम्बन्धित अध्ययन गर्ने बताइन् ।

कन्फ्युसियस इन्स्टिच्युटकी चीन पक्षकी निर्देशक प्रा. डा. काओ रुईले कार्यक्रमबाट विद्यार्थीहरूले चीनको बृहत्तर संस्कृति बुझ्ने र नेपाल–चीनबीचको अन्तरसांस्कृतिक संवाद क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको बताएकी छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काका अनुसार चीनको नानहाई बौद्ध एकेडेमीमा विद्यार्थी आदान–प्रदान तथा अध्ययनका लागि पठाइएको यो चौथो समूह हो । विगत तीन वर्षमा विश्वविद्यालयबाट उक्त कार्यक्रममा सहभागी हुने विद्यार्थीको संख्या १०० नाघिसकेको उनले बताए ।
कार्यक्रमअन्तर्गत चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि नानहाई बौद्ध एकेडेमीले निःशुल्क शिक्षण, आवास तथा भोजनको व्यवस्था गरेको विश्वविद्यालयले जनाएको छ ।
देवदहमा हाल चिनियाँ भाषा अध्ययन कार्यक्रमको अन्तिम सेमेस्टरमा ५७ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले चिनियाँ भाषा अध्ययनलाई अन्तर्राष्ट्रिय अध्ययन तथा विद्यार्थी आदान–प्रदानका अवसरसँग जोड्दै आएको जनाएको छ ।
काठमाडौं उपत्यकाबाहिर सञ्चालनमा रहेको एकमात्र कन्फ्युसियस इन्स्टिच्युट तथा चिनियाँ भाषा सिकाइ तथा परीक्षा केन्द्र लुम्बिनी बौद्ध विश्वविद्यालयमा सञ्चालनमा रहेको विश्वविद्यालयको भनाइ छ । हाल विश्वविद्यालयका विभिन्न कार्यक्रममा २५० भन्दा बढी चिनियाँ विद्यार्थी अध्ययनरत छन् ।
विश्वविद्यालयका अनुसार चिनियाँ विद्यार्थीको उपस्थितिले विश्वविद्यालय परिसरमा चिनियाँ भाषा सिकाइका लागि अनुकूल भाषिक वातावरण निर्माण भएको छ । विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्र नभई दक्षिण एसियामै चिनियाँ भाषा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको विश्वविद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology