बुटवल । डा. कृष्ण न्यौपानेद्वारा लिखित ‘बुद्धकालीन देवदह’ पुस्तकको परिचर्चा गरिएको छ । तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा शनिबार तिलोत्तमा–स्थित शहीद गंगालाल पुस्तकालयमा आयोजित साहित्य संगमको २४औँ श्रृङ्खलामा पुस्तक परिचर्चा गरिएको हो ।
कार्यक्रममा लेखक डा. न्यौपानेले बुद्धको जीवन र सन्देशबाट हिंसा तथा मतभेदरहित समाज निर्माणको शिक्षा लिन सकिने बताए । बुद्धको मावली देवदह रुपन्देहीमै रहेकाले बुद्धकालीन देवदहबारे अध्ययन गरेर पुस्तक तयार गर्ने सोच आएको उनले बताए ।
न्यौपानेले देवदहको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे अध्ययन गर्दै यसै विषयमा थेसिससमेत लेखेको जानकारी दिए । देवदह नामको उत्पत्तिबारे विभिन्न अभिलेख तथा अध्ययनमा देवताहरूले नुहाउने दहका रूपमा उल्लेख पाइने उनले बताए ।
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघिका घटनाक्रम र बुद्धत्व प्राप्तिको कारणबारे विभिन्न धारणा रहेको उल्लेख गर्दै न्यौपानेले आफ्नो अध्ययनमा गौतम बुद्ध र बुद्धकालीन देवदहलाई विशेष महत्व दिएको बताए । तत्कालीन समयमा सन्तान जन्माउन माइती जाने परम्परा रहेको र यशोधरा माइत देवदहतर्फ जाने क्रममा लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको विवरण विभिन्न अभिलेखमा पाइने उनको भनाइ छ ।
बुद्धका बारेमा जति अध्ययन गर्दै गयो, त्यति नै थप अध्ययन गर्न बाँकी रहेको अनुभूति हुने पनि न्यौपानेले बताए ।
कार्यक्रममा युवा कवि मोतीराम भट्ट, राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला र साहित्यकार गुरुप्रसाद मैनालीका कृतिसँगै ‘बुद्धकालीन देवदह’ पुस्तकलाई पनि परिचर्चाको विषय बनाइएको थियो ।
प्रतिष्ठानले हरेक महिनाको अन्तिम शनिबार साहित्य संगम श्रृङ्खला आयोजना गर्दै आएको जनाइएको छ ।
कार्यक्रममा साहित्यकार वनमाली निराकारले न्यौपानेको पुस्तक अध्ययन तथा जानकारीका दृष्टिले महत्वपूर्ण रहेको बताए । उनले बीपी कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानबारे चर्चा गर्दै उनका विचार र साहित्यलाई अध्ययन गर्नुपर्ने धारणा राखे ।
साहित्यकार डा. मुरारी पराजुलीले बुद्धको जन्मस्थलका विषयमा भारतबाट विवाद सिर्जना गर्ने प्रयास हुँदै आएको उल्लेख गर्दै ऐतिहासिक तथ्य र प्रमाणका आधारमा वास्तविकता बुझ्न आवश्यक रहेको बताए । बुद्धको मावली देवदहको इतिहासबारे अध्ययन गर्न ‘बुद्धकालीन देवदह’ पुस्तक उपयोगी हुने उनको भनाइ थियो ।
साहित्यकार कविराज पौडेलले समालोचना तथा साहित्यिक ज्ञानका विषयमा चर्चा गरे । साहित्यकार डा. हरिप्रसाद भण्डारीले पुस्तक बुद्धसम्बन्धी ज्ञान हासिल गर्न महत्वपूर्ण सामग्री बन्न सक्ने बताए ।
कार्यक्रमको कार्यतालिकाअनुसार रमेश समर्थनले मोतीराम भट्ट र हरि देवकोटाले गुरुप्रसाद मैनालीका बारेमा परिचर्चा गरेका थिए । कार्यक्रममा उद्धव देवकोटा, गणेश न्यौपाने, डीआर न्यौपाने, श्रीराम न्यौपाने, यज्ञलाल सुवेदी, लक्ष्मण ज्ञवाली र यज्ञ न्यौपाने लगायतले रचना वाचन गरेका थिए ।
साहित्यकार डा. मुरारी पराजुलीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology