तिलोत्तमा । राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि रुपन्देहीमा सुझाव संकलन कार्यशाला सम्पन्न भएको छ ।
नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशभरबाट पाठ्यक्रम परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण संकलन गर्ने अभियानअन्तर्गत तिलोत्तमास्थित प्याब्सन रुपन्देहीको सभाहलमा एकदिने कार्यशाला आयोजना गरेको हो ।
कार्यशालामा शिक्षक, विद्यार्थी र अभिभावकका तर्फबाट पाठ्यक्रम परिमार्जनका विषयमा मौखिक तथा लिखित सुझाव संकलन गरिएको जनाइएको छ । पाठ्यक्रममा परिमार्जन गर्नुपर्ने समग्र तथा विषयगत विषय समेटेर तयार पारिएको सुझावपत्र पाठ्यक्रम विकास केन्द्रको टोलीलाई हस्तान्तरण गरिएको प्याब्सन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष धनराज चापागाईले बताए ।
कार्यशालामा बोल्दै प्याब्सन केन्द्रीय सहअध्यक्ष गोपाल आचार्यले पाठ्यक्रममा सैद्धान्तिक ज्ञानभन्दा नेपालको भूगोल र माटो सुहाउँदो व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले विद्यार्थीलाई व्यवहारिक जीवन र रोजगारीसँग जोड्ने ज्ञान तथा सीप दिने गरी पाठ्यक्रम विकास गर्न आवश्यक रहेको धारणा राखे ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज टीकाराम न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका अध्यक्ष विष्णु पन्थी, शिक्षाविद् लोकनाथ उपाध्याय, डा. दामोदर भुषाल, अभिभावक संघ लुम्बिनी प्रदेश अध्यक्ष हेम थापा र अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले पाठ्यक्रम परिमार्जनका विषयमा सुझाव दिएको बताइएको छ ।
कार्यशालामा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश पौडेलले पाठ्यक्रम परिमार्जनका विषयमा सहजीकरण गरेका थिए ।
कार्यशालामा प्याब्सनका विभिन्न जिल्लाका पदाधिकारी तथा सदस्य, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र पत्रकारको सहभागिता थियो ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्य, प्रदेश सल्लाहकार शिव गैरे, केन्द्रीय सदस्य सुन्दर पाण्डे र गुरुदत्त पौडेल, प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाल, कपिलवस्तु प्याब्सन अध्यक्ष धीरेन्द्र विक्रम सिंह, प्रदेश कमिटी कोषाध्यक्ष महेश भुर्तेल, प्रदेश सदस्य मणिरत्न भण्डारी र डीबी थापालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सन लुम्बिनी प्रदेश सचिव कृष्णप्रसाद शर्माले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology