काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ ।
तीनवटै संस्थाका सम्बन्धित प्रतिनिधिबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता बढाउने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी विस्तृत अध्ययन तथा मूल्याङ्कन, सम्पत्ति र दायित्वको यथार्थ परीक्षण, शेयर आदानप्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ । प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंकको स्वीकृति तथा प्रचलित कानुनअनुसार आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ ।
तीनवटै संस्थाले प्राप्ति प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाको पालना गर्ने र सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology