नुवाकोट । भोटेकोशी बाढी–पहिरोबाट प्रभावित विदुर नगरपालिका–४ मा राहत वितरणलाई लिएर स्थानीय असन्तुष्ट देखिएका छन् । राहत लिन वडा कार्यालय पुगेका कतिपय प्रभावितले आफूले राहत नपाएको गुनासो गरेपछि राहत वितरण प्रक्रिया र लाभग्राही छनोटमाथि प्रश्न उठेको हो ।
राहत वितरणका क्रममा वास्तविक पीडितलाई प्राथमिकता नदिइएको तथा आर्थिक र भौतिक रूपमा सक्षम व्यक्तिले समेत राहत पाएको स्थानीयको आरोप छ । दुई–तीन तले घर भएका व्यक्तिले राहत पाउँदा बाढी–पहिरोका कारण घरजग्गा गुमाएर समस्यामा रहेका केही परिवार भने छुटेको उनीहरूको गुनासो छ ।
राहत लिनका लागि बोलाइएका केही स्थानीय वडा कार्यालयमा पुगे पनि सामग्री नपाएको बताएका छन् । उनीहरूले प्रभावितको वास्तविक अवस्था पहिचान नगरी राहत वितरण गर्दा समस्या भएको बताएका छन् ।
स्थानीयले राहत पाउने व्यक्तिको छनोट प्रक्रिया पारदर्शी बनाउनुपर्ने र बाढी–पहिरोबाट वास्तविक रूपमा प्रभावित परिवारको पहिचान गरी उनीहरूलाई प्राथमिकताका आधारमा राहत उपलब्ध गराउन माग गरेका छन् ।
यसैबीच, विदुर नगरपालिका–४ का वडा अध्यक्ष निलमबाबु ढुंगेलले भने वडा कार्यालयले राहत वितरण नगरेको स्पष्ट पारेका छन् । त्रिशूली बजारको एक कुनामा बसेका तथा बाढी–पहिरोका कारण घरजग्गा गुमाएका प्रभावितलाई मुस्लिम समुदायले आफ्नै समुदायबाट संकलन गरेको राहत सामग्री वितरण गर्न लागेको उनले बताए ।
‘हामी सबै नेपाली हौँ, सबै बराबर हुन् । राहतमा कुनै राजनीतिक कुरा हुँदैन,’ अध्यक्ष ढुंगेलले भने, ‘मुस्लिम समुदायले गरेको राहत वितरणलाई आम नागरिकले नबुझेका कारण गलत बुझाइ भएको हो ।’
वडा अध्यक्ष ढुंगेलले वडा कार्यालयले हालसम्म राहत वितरण नगरेकाले वडाले पक्षपात गरेको भन्ने आरोपमा सत्यता नभएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology