काठमाडौं । भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ ।
उक्त तालको पानीको सतह बढिरहेको र जुनसुकै बेला ताल फुट्न सक्ने जोखिम रहेको सूचनामा उल्लेख छ । महाशाखाले भनेको छ- 'चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुंदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, हिजो भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ ।'
सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology