Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बाढीबाट विद्युत् संरचनामा ठूलो क्षति

भोटेकोशी बाढीबाट विद्युत् संरचनामा ठूलो क्षति

images
  • भोटेकोशी बाढीबाट विद्युत् संरचनामा ठूलो क्षति
    images
    images

    काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।

    images
    images
    images

    त्रिशूली नदी बेसिनमा सञ्चालनमा रहेका नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् ।

    images
    images
    images

    १२ वटा विद्युत् आयोजना बन्द

    images
    images
    images

    बाढीबाट प्रभावित विद्युत् आयोजनामा रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सालासुङ्गी (साञ्जेन) ७८ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव ८ मेगावाट, साञ्जेन ४२ दशमलव ५ मेगावाट, चिलिमे ५२ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट, माथिल्लो मैलुङ १४ दशमलव ८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेका छन् ।

    यसैगरी, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ ।

    १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन

    बाढीका कारण विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

    सम्पर्कविहीन भएकामध्ये त्रिशूली–३ ‘बी’ आयोजनाको निर्माणस्थलमा कार्यरत २१ जना, चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृह क्षेत्रमा ६ जना, आवास क्षेत्रमा १ जना, त्रिशूली–३ ‘बी’ आयोजनामा चेस्को कम्पनीबाट खटिएका ११ जना र रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना रहेका छन्।

    त्यस्तै, त्रिशूली–३ ‘ए’ को विद्युत्गृह मर्मतमा संलग्न ४५ जना, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका २ जना, रसुवा वितरण केन्द्रका २ जना तथा धादिङको त्रिशूली २२० केभी उपकेन्द्रमा ठेकेदारमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    रसुवामा पूर्ण रूपमा विद्युत् अवरुद्ध

    बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

    धादिङको जहरेस्थित ३३ केभी उपकेन्द्रमा करिब ५ फिट लेदो जमेको छ। अहिले डोजर प्रयोग गरेर लेदो हटाउने काम भइरहेको छ। विभिन्न स्थानमा ११ केभीका विद्युत् पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।

    त्रिशूलीस्थित २२० केभी मुख्य उपकेन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी मुख्य टावरमा समस्या आएपछि प्रसारण सेवा अवरुद्ध भएको छ।

    चार प्रमुख प्रसारण लाइनमा क्षति

    बाढीबाट विभिन्न प्रसारण लाइनमा समेत क्षति पुगेको छ। क्षति पुगेर अवरुद्ध भएका प्रमुख प्रसारण लाइनमा समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे मुख्य–त्रिशूली–३ ‘बी’ मुख्य–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन रहेका छन् । विभिन्न स्थानमा प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ ।

    उद्धारसँगै विद्युत् पुनःस्थापनाको प्रयास

    बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ। फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने काम भइरहेको र  सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको उर्जा मन्त्रालयले जनाएको छ ।

    वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी प्रभावित क्षेत्रमा आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्ने तयारी

    सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा विद्युत् प्रणाली सञ्चालन गरी चौघोडा उपकेन्द्र चालु गर्ने तयारी भइरहेको छ भने गजुरीदेखि गल्छीसम्म धादिङबेँसी उपकेन्द्रमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

    सम्भव भएका स्थानमा विद्युत् लाइनको निरीक्षण, मर्मत तथा प्रसारण लाइन पुनःसञ्चालनको काम भइरहेको र विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा सम्बन्धित वितरण केन्द्रलाई विद्युत् प्रणाली यथाशीघ्र सुचारु गर्न आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।