बर्दघाट । बर्दघाट नगरपालिकाका ३४ सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारका कार्यक्रम सञ्चालन गर्न समृद्ध समुदाय विकास केन्द्र, नेपाल र सहभागी विद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
समृद्ध समुदाय विकास केन्द्रले सञ्चालन गरिरहेको ‘बर्दघाटमा गुणस्तरीय शिक्षा र सक्रिय नागरिकता’ परियोजनाअन्तर्गत नगरपालिकाका चार विद्यालय समूहमा अभिमुखीकरणसँगै समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
साउन २७ गते जहदा, २८ गते दाउन्ने, २९ गते पञ्चनगर र भदौ १ गते माकर समूहमा कार्यक्रम आयोजना गरिएको थियो ।
समझदारीले विद्यालय र परियोजनाबीचको सहकार्य, विद्यार्थीको सिकाइ अवस्था पहिचान तथा सुधार, शिक्षकको क्षमता विकास, कक्षा अवलोकन, विद्यार्थीको नियमित अनुगमन, बाल संरक्षण र अभिलेख व्यवस्थापनलगायतका विषयलाई समेटेको संस्थाले जनाएको छ ।
परियोजनाले विशेषगरी सिकाइमा पछाडि रहेका विद्यार्थीलाई सुधारात्मक सहयोग, बालकेन्द्रित शिक्षण, शिक्षक सहयात्री प्रणाली, अभिभावक सहभागिता, विद्यालय सुशासन र बाल क्लब सुदृढीकरणलाई प्राथमिकता दिने जनाएको छ ।
समृद्ध समुदाय विकास केन्द्रका निर्देशक युवराज चापागाईंले विद्यालयमा एकपटक तालिम दिएर मात्र शिक्षण अभ्यासमा दिगो सुधार नआउने भएकाले शिक्षकलाई निरन्तर सहकर्मी सहयोग, कक्षा अवलोकन र प्रतिक्रिया आवश्यक रहेको बताए । उनले हरेक बालबालिकाले आफ्नो सिकाइ आवश्यकताअनुसार सहयोग पाउनुपर्नेमा जोड दिए ।
जुलाई २०२६ देखि जुन २०२९ सम्म सञ्चालन हुने परियोजनाले ३४ विद्यालयका करिब ७ हजार ५ सय ४७ विद्यार्थी, ४ सय ६१ शिक्षक, ५५ शिक्षक सहयात्री तथा करिब ६ हजार अभिभावकलाई समेट्ने लक्ष्य राखेको छ ।
परियोजनाले विद्यार्थीको सिकाइ उपलब्धि सुधारसँगै विद्यालय सुशासन सुदृढ गर्ने र नगरपालिका, विद्यालय तथा समुदायबीचको सहकार्यलाई संस्थागत गर्ने लक्ष्य लिएको समृद्ध समुदाय विकास केन्द्रले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology