देवदह । देवदहका २५४ जना शिक्षकलाई सहयोत्मक तथा समालोचनात्मक विधिमा आधारित विषयगत तालिम प्रदान गरिएको छ । देवदहमा गुणस्तरीय शिक्षा परियोजना सञ्चालन गरिरहेको सोइया महिला स्वावलम्बी संस्थाले तालिम प्राप्त शिक्षकलाई बिहीबार प्रमाणपत्र वितरण गर्यो ।
असार १६ देखि साउन २८ सम्म विभिन्न ९ वटा चरणमा तालिम दिइएका शिक्षकलाई औपचारिक कार्यक्रम बीच प्रमाण पत्र वितरण गरिएको संस्थाका परियोजना संयोजक प्रकाश भुर्तेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले तालिममा सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न सके मात्रै त्यसको वास्तविक प्रतिफल प्राप्त हुने बताए ।
“तालिम लिएर पनि शिक्षामा जुन प्रकारको रूपान्तरण हुनुपर्ने हो, त्यो देखिएको छैन,” खरेलले भने, “कक्षाकोठाका सम्पूर्ण विद्यार्थीलाई आफ्नै छोराछोरीसरह व्यवहार गर्न सके मात्रै शिक्षामा सुधार ल्याउन सकिन्छ ।”
कार्यक्रममा डेनमार्कको साझेदार संस्था स्कुल लाइफ इन नेपालका निर्देशक एनिमेट नोडफल्क, वडा नं. १ का अध्यक्ष दीपक नेपाल, वडा नं. ३ का अध्यक्ष यज्ञप्रसाद अर्याल, नगर शिक्षा अधिकृत पर्शुराम ढकाल, प्रशिक्षक गीरमान थापा लगायतको सहभागिता थियो ।
सोइया महिला स्वावलम्बी संस्थाकी अध्यक्ष केसुमाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी व्यवस्थापक मेनुका न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा बाल क्लबका तर्फबाट सुरक्षा न्यौपाने र निस्तिका परियार, शिक्षकका तर्फबाट सीता माध्यमिक विद्यालयकी सुशीला पाण्डे पराजुली तथा महामाया भवानी विद्यालयका मिनप्रसाद भट्टराईले मन्तव्य राखेका थिए ।
त्यस्तै, सम्पूर्ण प्रधानाध्यापकका तर्फबाट ऋषिशोभेर अर्याल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको प्रतिनिधित्व गर्दै दल बहादुर थापाले मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology