देवदह । देवदह नगरपालिकाको वडा नं. ३ मा योजना सम्झौता भएको भन्दा फरक स्थानमा काम भएको भन्दै स्थानीयहरूले विरोध जनाएका छन् । नगरपालिकाको वडा नं. ३ को प्रगतिपथदेखि बसन्तपुरसम्मको सडक कालोपत्र गर्नको लागि विनियोजित रकम अन्यत्र सारेर काम भएको स्थानीयले बताएका छन् ।
सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज बेल्बासेलाई ध्यानाकर्षण पत्र बुझाउँदै परिवर्तनशिल टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरूले पुर्व वडा अध्यक्षले स्थानीयलाई जानकारी नदिई प्रगतिपथदेखि बसन्तपुरसम्म निर्माण गरिनुपर्ने सडक विष्ट चोकबाट दक्षिण तर्फ सारेर काम गरेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।
आर्थिक वर्ष २०७८/७९ को नगर विकास योजना' पुस्तिकाको १३४ पेजमा प्रदेश समपुरक आयोजना अन्तरगतको ५० लाख बजेटको उक्त आयोजना कार्यक्रम सम्झौता भएको भन्दा फरक ठाउँमा सुरु गरि केहि बजेट समेत नगरपालिकाबाट निकासा भैसकेको बुझिन आएकोले थप अनुसन्धान गरेर निर्णय लिईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताए । उनले भने, "इन्जिनियर र अन्य प्राविधिक टिमको रिपोर्टिङको आधारमा पनि उक्त आयोजना अन्यत्र लगिएको बुझिएको छ । यस प्रकारको गल्ती कसरी भयो हामी अध्ययन गरेर निष्कर्षमा पुग्छौं ।" 
यस विषयमा कुरा गर्दा उक्त आयोजनाको ठेक्का पाएर काम गरिरहेका निर्माण व्यवसायी विक्रम कुँवरले तत्कालीन वडा अध्यक्ष बैकुण्ठ कुँवरले देखाएको सडकमा आफुले काम गरेको बताए । त्यसैगरी वडा कार्यालयका इन्जिनियर गणेश
पाण्डेले आफुले पनि पछि मात्रै योजना भन्दा फरक ठाउँमा काम भएको पाएको र भुक्तानी रोक्न समेत अनुरोध गर्दा आफु विदामा रहेको बेला अर्कै कर्मचारी सुदिप खरेलबाट कागजात मिलाएर रनिङ विलको भुक्तानी दिईएको बताए ।
सोहि विषयमा राखिएको जिज्ञासामा नगरपालिका इन्जिनियर राजकुमार यादवले फरक ठाउँमा काम भएको ज्ञान आफुलाई नभएकोले भुक्तानी दिईएको बताउँदै केही दिन अघि मात्रै आफुलाई यसबारे सत्य जानकारी प्राप्त भएको बताए ।
निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी विक्रम कुँवरले तत्कालीन वडा अध्यक्ष बैकुण्ठ कुँवरले भनेकै स्थानमा आफुले काम गरेको बताएपछि हामीले तत्कालीन वडा अध्यक्ष कुँवरसंग सम्पर्क गर्दा कुँवरले फरक ठाउँमा काम नगरिएको दावी गरे । उनले भने, " आयोजना र कार्यक्रम उहीँ हो केही व्यक्तिहरूले आफ्नो घर अगाडि पिच नभएकोले आपत्ति जनाएका हुन् ।" आफुले जनघनत्वको आधारमा काम गरेको उनको भनाइ छ ।
हेर्नुहोस्, स्थानीयले बुझाएको ध्यानाकर्षण पत्र :



Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology