काठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग प्रभावित भएका छन् । पछिल्लो विवरणअनुसार केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने बाढीको जोखिमका कारण केही राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।
यस्तै, मकवानपुरको कान्ति लोकपथ मा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यो निर्णय पनि अर्को सूचना नभएसम्म कायम रहने प्रहरीले जनाएको छ ।
उता, इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सो क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग दुई स्थानमा पहिरोका कारण अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका-४ जिरोकिलो क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग बन्द भएको हो। त्यसैगरी भोटेकोशी गाउँपालिका-२ कोदारी क्षेत्रमा ढुंगा, माटो र लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामाबगर-रामेछाप सडकखण्ड सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसरबाट वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको छ ।
रसुवामा पनि वर्षाले सडक सञ्जालमा असर परेको छ। गोसाइँकुण्ड गाउँपालिका-३ कुलुङ क्षेत्रमा लेदो सहितको पहिरो खसेपछि पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी कच्ची सडकसमेत बन्द भएको छ ।
यसैबीच, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैलेस्थित घ्याकर खोलामा लेदोसहितको पानीको बहाव बढेपछि जोमसोम–कोरला सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न, मौसमको जानकारी लिन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology