काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार तथा दुर्व्यवहारको घटनाको निन्दा गरेको छ ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पौडेलमाथि साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरेर फर्कने क्रममा कालो मसी प्रहार गरिएको उल्लेख गरिएको छ ।
पार्टीले उक्त घटनालाई हिंसात्मक, अमर्यादित तथा लोकतान्त्रिक मूल्यमान्यताविपरीतको गतिविधि भएको भन्दै यसको भर्त्सना गरेको छ । विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सबैलाई भए पनि जनप्रतिनिधिमाथि हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ ।
रास्वपाले यस्ता घटनाले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सभ्य राजनीतिक अभ्यासमाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।
पार्टीले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।
साथै रास्वपाले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास र सभ्य समाज निर्माणप्रतिको आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology