देवदह । आर्थिक वर्ष २०८२÷०८३ को शतप्रतिशत व्यावसायिक लक्ष्य पूरा गरेको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम गरेको छ ।
देवदह-७ स्थित यशोधरा भिक्षुणी बिहार परिसरमा आयोजित कार्यक्रममा ३० भन्दा बढी फलफूलका बिरुवा रोपिएको शाखा प्रमुख विनिता श्रीषले जानकारी दिइन् । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र भावी पुस्ताका लागि स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
कार्यक्रममा यशोधरा भिक्षुणी बिहारकी प्रमुख उपेखा गुरुमाँ, बिहारका सचिव तिल विक्रम बुढाथोकी, नेपाल मगर संघ नगर समिति अध्यक्ष किसनबहादुर थापा तथा सिनियर एजेन्सी म्यानेजर कमला थापा, शाखाका एजेन्सी म्यानेजर, सिटिजन लिडर्स तथा अन्य सहभागीहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक तथा एजेन्सी म्यानेजर शोभा थापाको स्वागत, र पार्वती न्यौपानेको सञ्चालनमा भएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे । उनीहरुले सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology